धरान । किरातीहरुको नयाँ बर्ष एलम्बर सम्बत ५०८५ को अवसरमा किरात राई यायोख्खा सुनसरीले साता व्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ ।
विगतदेखि नै नेपाल सरकारलाई एलम्बर सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा घोषणा गर्न दबाब दिदै एलम्बर सम्बतको अवसरमा विविध कार्यक्रम गर्दै आएको किरात राई यायोख्खा सुनसरीले यस बर्ष पनि साता व्यापी कार्यक्रमको आयोजना गर्न लागेको हो । आइतबार धरानमा पत्रकार सम्मेलन गरी किरात राई यायोख्खा सुनसरीले एलम्बर सम्बतलाई राष्ट्रिय संवतको रुपमा मान्यता प्रदान गर्न राज्यलाई दबाब दिदै साता व्यापी कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै किरात राई यायोख्खा सुनसरीका सचिव सम्भु राई पृथकले एलम्बर सम्बतको अवसरमा साता व्यापी कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।


उहाले विक्रमादित्यको नामबाट चलेको वि.सं., जिसस क्राइस्टको नामबाट चलेको इस्वी संवतलाई राज्यले मान्यता प्रदान गरी सरकारी कामकाजमा ल्याएको बताउदै दुवै संवत नेपालीसँग सम्बन्धित नभएको, विदेशी पहिचान नजोडिएको बताउनुभयो । उहाँले नेपालको प्राचीन सम्बत एलम्बर सम्बत ५०८५ लाई अब सरकारले लागू गर्नुपर्ने बताउदै नेपालीपन, नेपालीको पहिचान, माटोसँग जोडिएको यो सम्बतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिएमात्र अहिलेको राष्ट्रिय गीतसँग मेल खाने बताउनुभयो । सो अवसरमा साता व्यापी कार्यक्रमको जानकारी गराइएको थियो । पौष २५ देखि माघ २ गतेसम्म आयोजना हुने कार्यक्रममा छेलो हान्ने प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता, बुद्धिचाल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, महिला फुटबल प्रतियोगितासँगै हाङ एलेम्बरको प्रतिमामा दिप प्रज्वलन, ८५ वटाा बेलुनसहित सुम्निमा पारुहाङ अंकित लोगो र यायोख्खाको गौरवशाली झण्डा उडाउने कार्यक्रममा रहेका छन् । सोही पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान सभापति जनकऋषि राई, नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्ले, सदस्य रोहित कुलुङ राई र प्रदेश पार्सद विकास चाम्लिङलाई सम्मान समेत गरिएको थियो ।

