धरान । साझा सुरक्षामार्फत शान्ति सुरक्षालाई मजबुत बनाउने उद्देश्यले विगतदेखि नै सञ्चालनमा आएको नेपाल भारतको संयुक्त सैन्य अभ्यासको १८ औं संस्करण मंगलबारबाट शुरु भएका छ । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले आयोजना भएको सो सैन्य अभ्यासको १८औँ संस्करण मंगलबारदेखि रुपन्देहीको सालझण्डीमा शुरु भएको हो । ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जङ्गल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतंकवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसंघीय बडापत्रअनुरुप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन एवं राहत परिचालन, आन्तरिक क्षमता विस्तार, वातावरण संरक्षणलगायत चुनौतीपूर्ण परिस्थितिमा सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित रहनेछ ।


पुस २९ गतेसम्म जारी रहने तालिममा नेपाली सेनाको श्रीजङ्ग बटालियन भारतीय सेनाको ११ औँ गोर्खा राइफल्स सहभागी रहेका छन् । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार यो अभ्यासबाट नेपाल र भारतबीचको मैत्री, विश्वास र साझा सांस्कृतिक सम्बन्ध अझ विस्तार हुनका साथै दुई देशका व्यावसायिक सेनाको सहकार्य एवं सहयोग अझ सुदृढ हुने छ । उहाँले भन्नुभयो–‘नेपाल भारत बीचको मैत्रीपूर्ण सम्बन्ध कायम गर्दै सदियौदेखिको असल मित्रताको सम्बन्धलाई यो अभ्यासले अझ प्रगाढ बनाएर लानेछ ।’ विसं २०६७ बाट वार्षिक रूपमा नेपाल र भारतमा आलोपालो गरी हुने उक्त अभ्यासको १७औँ शृंखला अघिल्लो वर्ष भारतको पिथौरागढमा भएको थियो । हालसम्म नेपाली सेनाका चार हजार दुई सय १५ जना र भारतीय सेनाका चार हजार चार सय ४२ जना सैनिक यो अभ्यासमा सहभागी भएका छन् ।

