रकम नपाएपछि बराह सहकारी पीडितद्वारा दुःखद् आत्महत्या एघार हजार निक्षेपकर्ताको ११ अर्ब रकम अपलचन गर्ने मतियारलाई कारबाही खोई ?

धरान । धरान उपमहानगरपालिका वडा नं. ८ गुम्बा मार्गका मिनबहादुर तामाङ्गको शव श्रावण २७ गते चतराको खार खोलामा पानीमा डुबेको अवस्थामा भटियो । भाद्र ४ गते धरान १६ समीचौक बस्ने नेत्रप्रसाद पहाडी चतरास्थित कोशी नदीमा हाम फालेर बेपत्ता भए । तामाङ्ग र पहाडी दुवै बराह बचत तथा ऋण सहकारी संस्थाका निक्षेपकर्ता थिए । जीवनभरि भारतीय सेनामा काम गरी सेवा निवृत्त तामाङ्गले बाँकी जीवन सहज यापनका लागि बराह ऋण तथा सहकारी संस्थामा एक करोड निक्षेप गरेका थिए । तर बराह सहकारी सञ्चालक मानबहादुर विश्वकर्मा र गंगा कालिकोटेको चरम ऐøयासी र लापारबाहीका कारण निक्षेपकर्ताको सम्पूर्ण रकम डुबेको छ । हाल आएर बराह बचत तथा ऋण सहकारी संस्था पूर्ण रुपले बन्द हुन पुगेपछि आफूले निक्षेप गरेको
रकम फिर्ता नहुने देखेपछि भूतपूर्व भारतीय सेनाका सुवेदार समेत रहेका तामाङ्ग मानसिक रुपमा विचलित भएका थिए । तामाङ्गका पारिवारिक सदस्य नरेश भुजेलका अनुसार मिनबहादुर तामाङ्ग श्रावण २२ गते अन्य दिन जस्तै कोट पाइन्ट, जुत्ता लगाएर भारतीय सेनाका कार्यरत रहँदा पाएका तक्माहरु कोटमा सिउरेर घरबाट निस्कनु भएको थियो । कुनै कार्यक्रममा जान लागेको महसुस गरी परिवारले उहाँलाई सोधेनन् पनि । तर उहाँ त्यसदिन फर्कनु भएन । आज आउनु होला, भोलि आउनुहोला भन्दै परिवारले आशा गरिरहयो । तर श्रावण २७ गते स्थानीयहरुले चतराको खारखोलामा उहाँको शव देखेपछि प्रहरीलाई खबर गरे । आफूले निक्षेप गरेको रकम अब कहिल्यै फिर्ता नहुने भएपछि अक्सर गरेर उहाँ बर्बराउनु हुन्थ्यो, भुजेलले भन्नुभयो । अन्तत ः बराह बचत तथा ऋण सहकारी संस्थाकै कारण तामाङ्गले आत्महत्या गर्नुपर्ने अवस्था सिर्जना भयो ।


उता धरान वडा नं. १६ समी चौक बस्दै आउनु भएका पहाडीको कथा कम दुःखदायी छैन । अति रोगबाट पीडित श्रीमति र दुई छोरालाई छोडेर भाद्र ४ गते चतरा स्थित सप्तकोशीमा हाम फालेका पहाडीको हालसम्म शव भेटिएको छैन । आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका पहाडी बराह बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताहरुबाट रकम संकलनको काम गर्दै आएका थिए । बचतकर्ताहरुको रकम आफूले फिर्ता गर्न नसकेपछि दैनिकजसो बचतकर्ताहरु उनकोमा आउने, रकम नदिए ठीक नहुने भन्दै चेतावनी दिने गर्न थालेपछि उनी तनावमा थिए । लामो समयदेखि श्रीमति र २ छोराका साथ डेरामा बस्दै आएका पहाडी र श्रीमति मेनुका धमला कलेक्टरको काम गर्दै आएका थिए । जीवनयापनका लागि पहाडी पेय पदार्थको मार्केटिङ्ग समेत गर्ने गर्दथे । श्रीमति धमला पतिले उठाउँदै गरेको निक्षेपकर्ताको रकम संकलनमा सहयोग गर्थिन् । दुवै जनाले गरी झण्डै १ सय जना बचतकर्ताबाट ६० लाख बराहमा बुझाएका मात्र थिएनन् खाइ नखाई आफूहरुले समेत ५ लाख रुपैया निक्षेप गरेका थिए । आफूहरुमाथि बचकर्ताको बारम्बार धम्की, अपशब्द र घर घेराउ गर्न थालेपछि पहाडीले बारम्बार बचतकर्ताको रकम फिर्ता गरिदिन बराहका सञ्चालक मानबहादुर विक, गंगा कालिकोटेलाई मात्र आग्रह गरेनन् अध्यक्ष शिव लामिछानेलाई समेत गुहारे । तर कतैबाट पनि सुनुवाई नभएपछि धमलाले चिनेजानेका साथीभाइहरुसँग सयकडा ३ रुपैया व्याजमा ऋण काढेर आफैले ७ लाख फिर्ता गरेका थिए । हाल उक्त रकमको ७२ हजार मासिक व्याज तिर्नुपर्ने हुन्छ । तामाङ्ग र पहाडी त एउटा प्रतिनिधिपात्र मात्र हुन् । भोलिका दिनमा तामाङ्ग र पहाडीले झै कैयौ बराह बचत तथा ऋण सहकारी पीडितले आत्महत्या गर्ने हुन् । झण्डै ११ हजार बचतकर्ताको ११ अर्ब भन्दा बढी रकम अपचलन गर्ने सञ्चालक हरुलाई राज्यले हालसम्म कुनै कारबाही र पीडितहरुको डुबेको रकम असुलीमा ठोस कदम चाल्न नसक्नु विडम्बना हो ।

तपाईको प्रतिक्रिया