धरान । पछिल्लो समय युवा पुस्ता समेत धार्मिक आस्थाप्रति आकर्षित बन्न थालेको पाइएको छ । कृष्ण अष्टमीका दिन बृद्धबृद्धामात्र हैन युवा पुस्ताको कृष्णप्रतिको भक्तिलाई समर्पित भएर भजन किर्तनसहित पूजाआजामा संलग्न भएको पाइएसँगै धार्मिक आस्थामा युवा पुस्ता आकर्षित भएको पाइएको हो ।
कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । यस पर्वको दिन धरान ३ मा रहेको कृष्ण मन्दिर तथा धरान १६ मा रहेको इस्कोन (कृष्ण) मन्दिरमा श्रद्धालु भक्तजनहरुको अत्याधिक घुइँचो लागेको थियो । भवन किर्तनसँगै पूजाआजामा संलग्न रहेका त्यहाँ बृद्धबृद्धा भन्दा पनि युवा पुस्ताहरु बढी पाइएको थियो । धर्ममा आस्था राख्ने मात्र हैन धर्ममै समिर्पत भएर अहिले युवा पुस्ता प्रचारप्रसारसँगै मन्दिरमा हुने भीडभाडका समयमा स्वयम सेवकको रुपमा काममा समेच रुची राख्न थालेका छन् । युवाहरु क्षणिक सन्तुष्टिका लागि कुलतमा लाग्ने, बेरोजरागरी भएर बरालिने, विभिन्न ठाउँ घुम्न जाने गर्छन् तर एक पटक धर्ममा लागिसकेपछि र धर्मग्रन्थहरु पढ्ने, भजनकिर्तनमा सहभागी हुन गरेपछि साँच्चैको आनन्दको अनूभूति युवा पुस्ताले गर्ने भएकोले पनि पछिल्लो समय युवा पुस्ता धार्मिक आस्थामा बढी रुची राख्न थालेको इस्कोन मन्दिरका युवा पूजारी रघुनाथ अयोध्यापति दाश बताउनुहुन्छ ।

इस्कोन मन्दिरमा अन्य बेला पनि कृष्णका भक्तहरुको भीड हुने गरे पनि कृष्णाष्टमीका दिन भने अत्याधिक भीड हुने गरेको र भीडलाई नियन्त्रण गर्न अत्यन्तै गाह्रो हुने अर्का पूजारीको भनाई छ । देश विदेशमै कृष्ण भगवानको आस्थामा वृद्धि हुदै गएको पाइएको उहाँको भनाई छ । धर्मलाई विज्ञानले समेत
सकारात्मक रुपमा हेर्ने गरेको पाइएको छ । इस्कोन मन्दिर अगाडि त्यहाँ आएका भक्तजनलाई उच्च रक्तचाप तथा मधुहेको उपचार गराइरहेको एमविविएर चौथो बर्षका विद्यार्थीहरुले समेत धर्मले मानिसको आत्मबल बढाउने, मनमा शान्ति ल्याउने, मानसिक तनाव नहुने भएकाले पनि धर्म एउटा उपचारको विधि भएको बताउँछन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एमविएस चौथो बर्षमा अध्ययनरत डा.विनय शर्माले ब्रत बस्नु धार्मिक आस्थासँगमात्र हैन नजोडिएका बताउदै स्वास्थ्यको हिसाबले समेत लाभदायक मानिने गरेकोले धार्मिक आस्थाले स्वास्थ्यमा पार्ने प्रभावको असर कम हुने गरेको विज्ञानले समेत प्रमाणित गरेकोले धार्मिक आस्थासँग विज्ञानलाई समेत जोडेर हेर्ने गरिएको बताउनुभयो । धार्मिक आस्थाले मानिसलाई अनुशासन, शान्तिमात्र ल्याउने हैन स्वास्थ्यका हिसाबले समेत लाभदायक हुने भएकै कारण पछिल्लो समय युवा पुस्ता समेत धर्मप्रति आकर्षित हुने गरेको पाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले पनि साँझ समेत मन्दिरमा युवा पुस्ताको उपस्थिति उल्लेख्य रहने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । युवा पुस्ता धार्मिक आस्थासँग जोडिनु सकारात्मक भएको पक्ष भएको समाजका अग्रजहरुले समेत बताउने गरेका छन् ।
