काठमाडौं / टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले घरेलु टोली आयरल्याण्डसाग लज्जास्पद हार व्यहोरेको छ । नेपाललाई टी(२० अन्तराष्ट्रियकै दोस्रो न्यून स्कोरमा समेटेको आयरल्याण्डले ८ विकेटले जित हात पारेको छ ।
नेपालले प्रस्तुत गरेको ५४ रनको लक्ष्य घरेलु टोलीले मात्र ८ ओभरमा २ विकेट गुमाएर भेट्टायो । आयरल्याण्डको पहिलो विकेट सस्तैमा गुमेको थियो । निल ओ’ब्राइनलाई सोमपाल कामीले व्यक्तिगत ३ रनमा आउट गर्दा टीमको स्कोर ४ रन मात्र थियो ।
तर, पल स्टर्लिङ र विलियम पोर्टरफील्डले ४९ रनको साझेदारी गरे । स्टर्लिङ २९ रनमा सोमपालकै बलमा आउट भए । पोर्टरफील्ड १८ रनमा अविजित रहे भने केभिन ओ’ब्राइन १ रनमा अविजित रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १४.३ ओभरमा ५३ रनमै अलआउट भएको थियो ।
यो नेपालको सबैभन्दा खराब तथा टी(२० अन्तराष्ट्रियकै इतिहासकै सबैभन्दा दोस्रो न्यून स्कोर हो । न्यून स्कोरको रेकर्ड भने नेदरल्याण्डको नाममा छ । उसले विश्वकपमा श्रीलंकाविरुद्ध ३९ रन बनाएको थियो ।
यसअघि टी(२० अन्तराष्ट्रियमा नेपालको सबैभन्दा कम स्कोर नेदरल्याण्डविरुद्ध ६९ रन थियो ।
