आधा आधा कार्यकालमा सहमति

धरान । नेपाली काँग्रेस र एमालेबीचमा केन्द्रीय सत्ता समीकरणसँगै भएको आधा आधा कार्यकालको सहमति अब कोशी प्रदेशमा पनि लागू हुने भएको छ । कोशी प्रदेश सरकारमा सहभागी माओवादीका मन्त्रीहरुले राजीनामा दिएर शुक्रबार बहिर्गमन भएपछि बसेको दुई दलबीचको छलफलपश्चात त्यस्तो निर्णय भएको हो ।


काठमाण्डौमा बसेको बैठकमा नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा, वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले संसदीय दलका सचेतक रेवतीरमण भण्डारी, काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्की लगायतका नेताहरुको सहभागिता रहेको थियो । काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीका अनुसार केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकाल दुई बषसम्म मुख्यमन्त्री हिक्मत कार्की रहने र देउवाको कार्यकाल शुरु भएपछि काँग्रेसका संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बन्ने सहमति भएको छ । यसैगरि मन्त्रालय भागबण्डाका सम्बन्धमा हाल एमालेका मन्त्रीहरुले सम्हालेका मन्त्रालय उनीहरुले नै सम्हाल्ने र नेपाली काँग्रेसबाट सहभागी मन्त्रीहरुलाई भौतिक पूर्वाधार, स्वास्थ्य, सामाजिक,पर्यटन तथा वातावरण कृषि तथा सहकारी मन्त्रालय लिने सहमति भएको छ । काँग्रेसका तर्फबाट मन्त्रीमा को को जाने भन्ने कुरा मंगलबारबाट टुंगो लाग्ने पनि उपनेता कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया