धरान । नेपाली काँग्रेसका संस्थापक, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा समाजवादका प्रणेता बीपी कोइरालाको ४२ औं स्मृति दिवस आइतबार धरानमा पनि मनाइएको छ । नेपाली काँग्रेसको शुभचिन्तक संस्था परिवर्तनशील समाज नेपालको र बीपी कोइराला संग्राहालय अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा धरान १३ स्थित बीपी कोइरालाको प्रतिमामा माल्यार्पण गरी स्मृति दिवस मनाइएको हो ।
सो अवसरमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङले बीपीका आदर्शका सम्बन्धमा संक्षिप्त व्याख्या गर्नुभएको थियो । उहाँले भन्नुभयो नेपालमा प्रजातन्त्र स्थापनाका लागि बीपी कोइरालाले आफ्नो जीवनको समेत प्रवाह नगरी जीवनपर्यन्त अदम्यका साथ लागि पर्नुभयो । त्यसले हरेक काँग्रेसका कार्यकर्तालाई सदैव प्रेरणा प्रदान गरिरहने छ । उहाँले भन्नुभयो २०१५ सालको आम निर्वाचनबाट दुई तिहाई वहुमतका साथ प्रधानमन्त्री भएको अवस्थामा राष्ट्रिय योजना आयोगको कार्यालयमा हलो जोतिरहेको किसान, किसानका झोपडीहरुको फोटो राखेर त्यसैलाई आत्मसात गरी मुलुकको योजना बनाउन निर्देशन दिनुभएको थियो । त्यो सच्चा समाजवादको व्याख्या थियो । राष्ट्रका योजना बनाउँदा गाउँमा बस्ने किसान, मजदुरहरु, पिछडिएको वर्गलाई हेरर बनाउनुपर्छ भन्ने बीपीको धारणा थियो ।

यसैगरि नेपाली काँग्रेसका पूर्व धरान उपमहानगर समितिका सभापति तिलक राईले बीपीका सम्बन्धमा आफ्ना धारणा राख्न अत्यन्तै कठिन हुने बताउनुभयो । वि.सं. २००५ सालमा तत्कालीन राणा शासकका विरुद्धमा आवाज उठाउँदा उहाँलाई पक्राउ गरियो । त्यबेला विराटनगरबाट हिडाएर धनकुटा हुदै काठमाण्डौ लैजाने क्रममा आज बीपीको प्रतिमा रहेको बाटोबाटै लगिएकोले यो ठाउँमा बीपीको प्रतिमा स्थापना गरिनु अत्यन्तै सान्दर्भिक रहेको छ । उहाँले भन्नुभयो बीपी वहुआयामिक प्रतिभाका धनी हुनुहुन्थ्यो । प्रजातन्त्रका प्रतिको उहाँको आस्था एकातिर थियो भने साहित्यतर्फ उहाँले पु¥याउनु भएको योगदान अर्को पाटो हो । आठ बर्षसम्म सुन्दरीजल जेलमा बस्दा उहाँले सुम्निमा, मोदी
आइरन, नरेन्द्र दाइ जस्ता महत्वपूर्ण कृतिहरु दिनुभयो । हरेक बर्ष बीपीको स्मृति दिवस, बीपी जययन्त औपचारिक रुपमा मनाएर नपुग्ने भन्दै उहाँले बीपीका आदर्शहरु समाज रुपान्तरणका लागि माध्यम बनाउनुपर्ने कुरामा जोड दिनुभयो । परिवर्तनशील समाज नेपाल धरानका अध्यक्ष उर्मिला प्रधानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन किरण आचार्यले गर्नुभएको थियो भने कार्यक्रममा नेपाली काँग्रेसका धरान उपमहानगर समितिका सभापति श्याम पोख्रेलले पनि बीपीका योगदानका सम्बन्धमा चर्चा गर्नुभएको थियो । यसैगरी बीपी चिन्तन प्रतिष्ठान धरान सुनसरीले पनि ४२ औं बीपी स्मृति दिवस धरान २ स्थित नगर समितिको कार्यालयमा एक कार्यक्रमका बीच सम्पन्न गरेको थियो । प्रतिष्ठानकी अध्यक्ष श्यामा रेग्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरुले बीपीका आदर्शहरुलाई समाज रुपान्तरणमा प्रयोग गर्नुपर्ने धारणा राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव विजय घिमिरेले गर्नुभएको थियो ।
