विगतका बर्षहरुमा झै यस बर्ष पनि समाजवादका सुत्रधार, प्रजातान्त्रिक आन्दोलनका प्रणेता, पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक बीपी कोइरालाको ४२ औ स्मृति दिवस झारा टराइको औपचारिकतामै सीमित हुन पुगेको छ । संयोगबस यसपटक बीपी स्मृति दिवस गुरु पूर्णिमाकै दिन पर्न गयो । देशभरिका कार्यकर्ताले बीपीलाई गुरुको दर्जामा राखेर पुण्य स्मृतिका दिन जनहितका कुनै कार्यक्रम गरेको पाइएन । नपाली काँग्रेससँग निकट रहेका सघ, संगठन, गाउ क्षेत्र, प्रदेश, जिल्ला कार्यसमितिहरुका पदाधिकारीहरु न्यून मात्रामा औपचाकिरता निर्वाह गरेका कार्यक्रम स्थल पुग्ने, दुई चार क्लिप फोटो सेशन गर्ने अनि सामाजिक सञ्जालमा पोष्ट्याउने काम मात्र भएको छ ।
नेपाली काँग्रेससँग आवद्ध हरेक नेता, कार्यकर्ताहरुले बीपी स्मृति दिवसका दिन के गर्नु पर्छ भन्ने कुराको हेक्का राखेकै पाइएन । वि.सं. २०४६ सालको राजनैतिक परवर्तन अगाडि गाउँ, क्षेत्र, तथा जिल्लाका कार्यकर्ताहरु मूल्य चुकाउन तयार भएर आम सर्वसाधारणले देख्ने गरी साप्तहिक कार्यक्रमको आयोजना गर्न गर्दथे । खोला किनार, सार्वजनिक स्थलमा वृक्षरोपण, बीपीका नाममा आश्रम स्थल, औषधोपचार विना जीवन र मृत्युको दोसाँधमा बाँचेकाहरलाई आपसमा संकलन गरेर आर्थिक सहयोग, अस्पतालको विरामीहरुलाई फलफूल वितरण, अज्ञात स्थलमै भएपनि रक्तदान कार्यक्रमको आयोजना गरिन्थे । त्यसबेला राजनैतिक दलहरु प्रतिबन्धित थिए । प्रतिबन्धित अवस्थामा नेपाली काँग्रेसका नेता कार्यकर्ताले यस्ता यावत कार्यक्रम अगाडि बढाउँथे । काँग्रेसले रोपेका रुखहरु प्रहरी प्रशासनले उखेलेर फाल्थे । काँग्रेसले आयोजना गरेको रक्तदानमा अवरोध पु¥याउथे, संकलित रगत नष्ट गरिदिन्थे । तर पनि यस्ता वायत कार्य गर्न उनीहरु हच्किदैनथिए । प्रहरी प्रशासनसँग प्रतिवाद गरेरै भएपनि सम्पन्न गर्थे । जसलाई हरेक तह र तप्काका नागरिकले नजिकबाट नियालेका हुन्थे । काँग्रेप्रतिको लगावमा बृद्धि हुँदै जान्थ्यो । अब परिस्थिति त्यस्तो रहेन । ०४६ साल पश्चात बीपी, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेरको नाममा भँजाउने प्रवृत्तिमात्र देखियो । यी नामहरु भँजाएर आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्ने, आफ्नो र सन्तानको समृद्धिमा इँटा थप्ने प्रवृत्ति झाँगियो । यही प्रवृत्ति मौलादै जाँदा आज एक आपसमा आर्थिक विभेदको यति ठूलो खाँडल बन्यो जसका कारणसामाजिक सद्भावना नै विथोलिएको छ । एउटा टाठो बाठो वर्गले गरिबीको नाम भँजाएर समृद्धिको सिढी चढेको छ भने अर्को वर्ग बीपीका आदर्शप्रति नतमस्तक भएर गरिबीको थिचाइमा परेको छ , बीपस्को नाम भँजाएरै सत्तामा पुगेकाहरुले इमान्दारिता देखाइदिएको भए मुलुक सम्बृद्धितर्फ उन्मुख भइसकेको हुने थियो । पहिला देशको समृद्धि, त्यसपछि समाजको समृद्धि, त्यसपछि व्यक्तिको समृद्धिको सुत्र अपनाउनुपर्नेमा पहिला व्यक्तिको समृद्धि अंगाल्दा मुलुक आर्थिक रुपमा टाँट पल्टन पुगेको हो । अझै पनि समय छ बीपीको नाम भँजाउने होइन । उहाँले देखाएको मार्ग अवलम्बन गर्ने हो । राजनैतिक स्वार्थका लागि बीपीले प्रतिपादन गरेको राष्ट्र, राष्ट्रियता, समाजवाद र संवैधानिक राजतन्त्रलाई किनारा लगाउन कार्य भयो । आज नेपाली काँग्रेस सिद्धान्त, आदर्शविहीन भएको छ । केवल सत्ता स्वार्थमा मात्र अल्मलिदा काँग्रेसले बीपी स्मृति दिवस, बीपी जयन्तिलाई औपचारिकतामा मात्र सीमित गर्न पुगेको भन्दा अन्यथा नहोला ।
