धरान । धरान भौगोलिक हिसाबले अन्य स्थानभन्दा पृथक छ । धरान क्षेत्रभित्रै धेरै जालाधारहरु छन् । सर्दु, खर्दु, तामाखाम लगायतका जलाधारहरु छन् जलाधार भएकै ठाउँमा खानेपानीको अभाव समेत छ । खानेपानी समस्या हुनुको प्रमुख कारण रहेको छ जलाधार क्षेत्रको संरक्षणमा सम्बन्धित पक्ष गम्भीर नहुनु । धरान उपमहानगरपालिकाको शिर धरान १४ विजयपुरलाई लिन सकिन्छ । धरानमा सुख्खा मौसममा खानेपानी अभाव भइरहँदा धरान ३ र १४ मा रहेको दुई धारे र तीनधारेले धरानेहरुको तीर्खा मेट्ने काम गरिरहेको छ । यी दुई धाराका पानी यही उम्रिएका हुन् । दुई धारे र तीनधारेमा विगतमा पानीको स्रोत जति थियो अहिले संरक्षणको अभावमा विस्तारै सुक्दै गएको पाइएको छ । यी दुई क्षेत्र धरान उपमहानगरपालकाको २ र ३ नम्बर वडाको संगम स्थलमा पर्छ । धाराको संरक्षणमा यी वडाहरुले समेत बजेटको अभाव देखाएर पन्छिने गरेका कारण धरान १४ को जलाधारक्षेत्रमा रहेको दुईधारे र तीनधारेको अस्तित्व समाप्त हुने खतरा पनि उत्तिकै रहेको छ । दुईधारे संरक्षका लागि कुनै पनि समिति छैन भने तीनधारेको संरक्षणका लागि विजयपुर जलाधार तीनधारे संरक्षण खानेपानी उपभोक्ता समिति गठन गरिएको छ यो समितिले काम गर्नु परै जाओस् समिति कहाँ छ र के गर्दैछ भन्ने कुरासम्म कसैलाई हेक्कासम्म छैन । स्थानीय स्तरमा भएका जलाधार क्षेत्रको संरक्षण गर्ने अधिकार स्थानीय सरकारको हो । यो क्षेत्र ३ र १४ वडाको संगम स्थलभित्र पर्ने भएकोले दुवै वडाले बजेटको अभाव देखाएर संरक्षण र्न नसकेको तर्क राख्ने गरेका छन् ।

धरानमा पानीको चरम अभाव भएका समयमा धरानेहरुको जीवन बचाउने काम यी धाराहरुले गरेको छ । यहाँ पिउने पानीमात्र हैन, नुहाउन तथा लुगा धुन समेत सर्वसाधारण यी धाराहरुमा पुग्ने गर्छन् । तर त्यहाँ पुग्ने सर्वसाधारणले समेत त्यस क्षेत्रमा रहेका झार फाल्ने, फोहोर फाल्ने काम गर्दैनन् बरु जलाधार क्षेत्र फोहोर गर्ने र पुराना लुगा जथाभावि फालेर हिड्ने गरेका छन् । यो क्षेत्रको संरक्षणमा वडाले गुरुयोजना बनाएको थियो । ३ नं. वडा समितिले गुरुयोजनामा तीनधारेलाई राखेर १४ नं. वडासँग समन्वय गरेर आधुनिक पार्कसहितको करिब साढे ४ लाख रुपैया लाग्ने डिपिआर समेत तयार गरेको थियो तर बजेटको अभावकै कारण काम हुन सकेन । ३ नंं वडाले अहिले पनि धरान उपमहानगरपालिका, कोशी प्रदेश सकारसँग वजेट पर्खिएर बसिरहेको वडाध्यक्ष विद्या शाक्य बताउनुहुन्छ । यता धरान उपमहानगरपालिका १४ नं. वडा समितिले समेत संरक्षणको दायित्व वडा न. ३ र १४ कै द भएपनि बजेटकै अभाव देखाउँदै संरक्षण नभएको बताउदै आएको छ । संरक्षण गर्ने सोचमात्र भएर नहुने त्योसँगै स्रोत समेत जुटाउनुपर्ने आवश्यक रहेकोले सम्भव नभएको १४ नं. का वडाध्यक्ष कृष्णप्रसाद भट्राइ बताउनुहुन्छ ।
