वाह सर्वहाराकी छोरी–नातिनी
कमनिष्ठा भएकाहरुलाई नै कम्युनिस्ट भन्थे हो रै’छ । आफूलाई सर्वहाराबादी भन्ने तर चरम सामन्तवादको अनुशरण गर्ने काँग्रेसको बुइँ चढेर मेयर भा’की भतपुर नगरपालिकाकी प्रमुख आच्या प्रचण्डाउपुत्री णुरे ड्याल्नीकी छोरीको विहे राजा महाराजाको भन्दा पनि उपल्लो ढंगले भएछ । किन नहोस त हजुरबाउ देशको महाराजा, आमा भरतपुरकी महारानी । बाबु हजुर र आमा ठाममा बसेर अक्टोपसजस्तै सोहोरेसी’ ड्याल्नी कान्छीको विवाह किन धुमधाम नहोस् त ? अरुलाईचाहिँ जनवादी विवाह गर्नुपर्छ भनेर लम्बेतानको भाषन ठोक्ने आफूचाहिँ राजा महाराजा भन्दा उपल्लो गर्ने । सुन्दा नि शरीरै जिरिङ्ग गर्ने । पाँचतारे होटल गोकर्ण रिसोर्टमा एक हजार देशका खुंखार भ्रष्टहरुलाई बोलाएछन् । विवाहमा ५२ जना मात्र सहभागी गराउने नियमलाई समेत धोती लगाइदिएछन् । जयहोस् सत्तासीन भ्रष्टहरुको ।
अनि घण्टा बन्छ देश

देश बनेन देश बनेन भनेर चिन्तागर्नु बेकार रै’छ । देश आफै बन्ने त होइन नि । कठोर परिश्रम गरेर बनाउनुपर्छ । तर यहाँ तैरानी मैरानी कस्ले भर्ने पानी भनेजस्तै छ । भ्रष्टाचार गर्ने, बलात्कार गर्ने, व्यभिचार गर्ने, अरुको लुटी खाने सबै भिआइपी । नेता र तिनका झोलेहरु पनि देश लुटिरा’छन् । इमान्दारहरु वैदेशिक रोजगारमा खाँडीम मुलुक गएर बेल्चा हानीरा’छन् । अर्थोक त त्यस्तै उस्तै हो यति सानो देशमा अमेरिकामा भन्दा बढी भिआइपी रै’छन् । अम्रिकामा २५२ जना, फ्रान्समा १०९ जना, जापानमा १२५ जना, रसियामा ३१२ जना, जर्मनीमा १४२ जना, अस्ट्रेलियामा २०५ जना, चाइनमा ४३५ जना भिआइपी रै’छन् तर नेपालमा ४८६० जना । वाह † अनि घण्टाको देश बन्छ । यी भिआइपीहरुलाई गाडी, गार्ड, ड्राइभर, मासिक खर्च, आवास उपलब्ध गराउनै प¥यो ।
चान्स पाए गर्छन्
झालेमालेका अध्येक्षे केपी ओलीले एक पटक भन्या थे नेपाली केटाले चान्स पाए भने गरेरै देखाउँछन् । खप्रओ बाले यो कुराचाहिँ सत्य भन्देका हुन् । नेपाली युवाले चान्स नपाएर पो त केही गर्न नसक्या हुन् । अब हेरम न झुलाघाट–चिवाभन्ज्याङ्ग समृद्धि यात्रामा शुरुवाल सुर्केर हिँड्या खप्रओ बा’लाई धनकुटाको लेगुवामा महेश राईले गालामा चड्काएछन् । अरुका गाला भन्दा अलि कडा खालको गाला परेका खप्रओलाई चड्काउँदा विचरा राईको हात पनि निला भए होलान् । तर राईले गाला भन्या गाला नै हो चाहे त्यो कडा होस् कि नरम ठोक्देछन् । यस अघि झल्लाझलुको गाला इटहरीमा चड्काइएको थियो, प्रचण्डको गाला भृकुटी मण्डपमा चड्काइएको थियो । आगामी दिनमा क–कस्को गाला चड्किने हो कुन्नि ? आखिरी गाला चड्किाउने श्रृंखला शुरु भएको छ ।
पहिचानवादीहरुले फुटाएछन्
प्रदेश ं. १ को नाम कोशी भनेर न्वारान गरेसी’ पहिचानवादीहरुको कन्सिरी तात्यातात्यै छ । किन नतातियोस् त ? आफ्नो पहिचान नै मेटाएर ताइन तुइको नाम राखेर न्वारान गर्ने प्रदेशका ८४ जना पुरेत र केन्द्रका खप्रओ, माकुने, र्याले काजी, प्रचण्डाउ, उपिन्दर जादव, जस्ता पण्डितहरु यतिबेला पहिचानवादीहरुको निशानामा प¥या छन् । साइत जुराएर नाम परिवर्तन गर भन्दा अटेर गरेसी’ नमान्दा पहिचानवादीहरुले थुनछेक कार्यक्रम सञ्चालन ग¥या छन् । थुनछेक कार्यक्रममा अटेर गर्नेहरुलाई मुक्के सास्ती, फोडफाडको सुत्र पनि प्रयोग गरेछन् । अस्तिका दिन थुनछेकको आवहान गर्दा नि सवारी साधन गुडाएसी पहिचानवादीहरुले सहने कुरै भएन । झापाको केरखामा दुईवटा बस, एक ट्रक, एक अन्य जातको गुडन्ते साधन फुटाएछन् । थुनछेकमा सवारी चलाउने पक्कैपनि कोशी नामांकन गर्नेका झोले हुनुपर्छ । कि कसो हौ ?
झापाड र जुत्ता खाने नेताहरुको फेहरिस्त
नेता भन्या लिच्चड, सरमछाडा हुन्छ भन्थे हो रै’छ । हाम्ले गनाउने तन्त्र ल्यायौ भनेर धोक्रेको फुलजस्तै नाक बनाएका नेताहरु गन्हाउने तन्त्र यतिबेला निल्नु न ओकल्नु जस्तै भएको छ । किन नहोस् त दिनैपिच्छे जुत्ता र झापड खान थालेसी’ । अब हेरम न खप्रओले अस्तिका दिन लेगुवामा झापड खाए । राष्ट्रपति रामचन्द्रे बोजेले संसदमै गोल्छे सार्कीबाट चड्कन खाए, प्रचण्डाउलाई बाग्लुङका पदम कुँवरले ठोकेका थिए । झलनाथ खनाललाई देवी प्रसाद रेग्मीले पड्काएका थिए, कैलालीका संजिव भट्टराईले बाउराम बाजेलाई जुत्ताको झट्टी हानेका थिए,सुशिल दा’लाई काठमाण्डौमा प्रवेश बस्नेतले ठोकेका थिए, पूर्णबहादुर खड्कालाई कमला शर्माले चप्पलले बजाएकी थिइन्, रामशरण महतलाई रामहरि खड्काले तालुमा पानीको बोतल फोरेका थिए ।पहिला मुलुका जनता सुरक्षित थिएनन् अब नेता
सुरक्षित रहेनन् ।
मरेका स्याल जाग्दैनन्
संविधानविद् डा. भिमार्जुन आचार्य पनि कहिलेकाँही त खुस्कन्छन् कि क्या हो ? अस्तिका दिन उन्ले सबै नेपाललाई जाग्न आग्रह गरेछन् । हैन हौ यो देशमा जाग्ने को छ र ? सबै मरेका स्यालमात्र छन् । जाग्ने जति सबै पलायन भइसके अनि को जाग्ने ? आचार्यले किन मजाक गरेको होला ? सरकार संविधानको पालना गर्नु पर्ने, अदालतको आदेश पनि टेर्नु नपर्ने,जनताको जीउधन र स्वास्थ्यको पनि मतलब गर्नु नपर्ने रे । तर जनताले सकि नसकी यी र यिनका सबै आसेपासेहरुको तलब सुविधा, चाडपर्व भत्ता समेत व्यहोरिदिनुपर्ने । यो कस्तो राज्य व्यवस्था हो ? यो कुन समाजवाद हो रे । टेर्नु नपर्ने, पालना गर्नु नपर्ने भएर त सरकार भएको हो । जनताले सकी नसकी सबै व्यहोर्नुपर्नेै भएकोले त जनता भएका हुन् । खै डा.साहबलाई कसरी सम्झाउनु ?
अमरेश नामै काफी छ
भ्रष्टाचारीहरुको जन्मकुण्डलीको पुलिंदा बोकेर हिडेका अमरेशको नामै काफी छ । अमरेशले भ्रष्टहरुले कहाँ कहाँ कति कति खाएका छन् सबै कुण्डली तयार पा¥या रैछन् । कुण्डलीमा नाम हुनेहरु कम कमी नै सुंध्रेंगेको शैलीमा उल्टै टेलिफोन गरी–गरी रात विहान धम्क्याउन लागिप¥या छन् । अमेरशलाई साथ दिने सबै विदेशतिर छन् । यहाँ भएका झोलेहरु कुण्डलीमा नाम भएका नाइकेहरुको तलुवा चाटेर बस्या छन् । त्यसै पशुपति शर्माले गाएका होइनन् नि, लुटन सके लुट कान्छा, नेपालमै छ छुट…।
अन्तेमा
अस्तिका दिन नेपाली नागरिकलाई अनागरिक बनाउने कुख्यात दलाल पनि अदालतको आदेशमा धरौटी बुझाएर छुटेछन् । गणे राजाहरुको दबाबमा भुत्ला कृष्ण खाँड छुटेछन् । गणे शासनमा यस्तै हो । जति लुटे पनि फुलमाला, जति अपराध गरेनि फुलमाला । त्यसैले त गणे गणे भन्दा रै’छन् । जसले जे गर्न सक्यो त्यसले त्यही गर्न पाउने भएसी’ गणे छाडेर अरुमा मन जाने कुरै भएन । गणे शासनबाट फाइदाचाहिँ लिन सक्नुपर्छ । नसक्ने पाजीहरु गणे शासनलाई धारे हात लगाउँदै विदेश मुन्टिन्छन् । आखिरी गणे शासन भन्या गणे शासन नै हो । उत्कृष्ट शासन । जे होस जे गर्न नि छुट ।
