आत्मानन्द गोल्डकपको उपाधि तिजोक पाँचथरलाई

इलाम । इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द कपको उपाधि तिजोक युवा क्लब पाँचथरले जितेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा समेत ५÷५ गोलको  बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो ।


विजेता तिजोकले नगद तीन लाख ११ हजार १११ र उपविजेता माङसेबुङले नगद दुई लाख पाँच हजार १ सय ११ रुपैयाँसहित ट्रफी हात पायो । तिजोक अघिल्लो संस्करणमा उपविजेता बनेको थियो । अघिल्लो संस्करणमा तिजोक छथर गाउँपालिका तेह्रथुमसँग पराजित बनेको थियो । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर विजेता तिजोकका  रोशन आङदेम्बे, उत्कृष्ट गोलकिपर रोशन नेपाल, सर्वाधिक गोलकर्ता निर्देश राई घोषित भए । त्यस्तै उत्कृष्ट खेलाडी उपविजेता माङसेबुङका रविन मगर र उदीयमान खेलाडी उपविजेता माङसेबुङका चन्द्रहाङ लिम्बू घोषित भए । उनीहरूले जनही नगद पाँच÷पाँच हजार प्राप्त गरे ।विजेता र उपविजेता टिम र खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले पुरस्कार वितरण गर्नुभएको थियो । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आत्मापवित्र हक्चात यक्चुमको आयोजनामा ८ मंसिरदेखि सञ्चालित गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टोली सहभागी थिए ।

तपाईको प्रतिक्रिया