धरान । अदुवाले यस बर्ष उच्च मूल्य पाएको छ । भारतमा अत्याधिक अदुवाको माग बढेसँगै विगतका बर्षहरुको तुलनामा मूल्य अत्याधिक बृद्धि भएको कृषि उपज बजारले जनाएको छ । उच्चतम् मूल्य बृद्धिको सूचिमा यो बर्ष अदुवाले रेकर्ड नै राखेको कृषि उपज बजारले जनाएको छ । मूल्य बढेपछि कृषक र व्यापारी उत्साहित देखिएका छन् । धनकुटाको सागुरीगढी ७ का कृषक पूर्णबहादुर राई अदुवाले यस बर्ष उच्चतम मूल्य पाएकोमा दंग देखिनुहुन्थ्यो । उहाँले आफूले अदुवाको खेति गरेदेखिको अहिलेसम्म यतिको मूल्य कहिल्यै नपाएको बताउनुभयो । कुनै बेला अदुवाको भाउ नभएर बारीमै कुहाएर राख्नुपर्ने अवस्थासम्म रहेको स्मरण गर्दै उहाँले विगतमा प्रतिकेजी १५ रुपैयासम्म विक्री गरेको अदुवा अहिले पतिकेजी ८० देखि ८५ रुपैयासम्म विक्री गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताउनुभयो । केही महिना अगाडि १५० देखि २ सय सम्म विक्री गर्नुभएका उहाँले अहिले मूल्य घट्दा पनि ८५ रुपैयासम्म विक्री गर्न पाएको बताउनुभयो । उहाँले यस बर्ष १० क्विन्टल अदुवा उत्पादन गरेको सुनाउँदै अदुवाबाट मात्र अढाइदेखि ३ लाख रुपैया आम्दानी गरेको सुनाउनुभयो । उहाँले भाउ जति राम्रो हुन्छ कृषक र व्यापारी दुवैलाई फाइदा पुग्ने बताउनुभयो ।

व्यापारी विनोद कुलुङ राईले अदुवाको मूल्य बढ्दा कृषक र व्यापारी दुवैलाई फाइदा पुग्ने बताउनुभयो । अदुवाको मूल्य बढ्ने र घट्ने भारतीय बजारमा भर पर्ने बताउदै मूल्य नहुदा तीन चार बर्ष अदुवाको कारोबार नहुँदा कृषकहरुले बारीमै अदुवा कुहाएर फाल्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भारतले अदुवाका माग गरेको खण्डमा नेपालमा उत्पादन भएको अदुवाको भाउ उच्च हुने बताउदै यस बर्ष इतिहासमै पहिलो पटक अदुवाको मूल्यले रेकर्ड कायम गरेकोे बताउनुभयो । यस बर्ष भारतले नेपालको अदुवा अत्याधिक माग गरेको तर कृषकहरुले उत्पादन कम गरेका कारण मूल्य अत्याधिक बढेको बताउनुभयो । आव ०६९÷७० अर्थात दर्श बर्ष अगाडिको मूल्यलाई हेर्ने हो भने पनि त्यसबेला प्रति केजी १ सय ७० रुपैयाभन्दा बढी जान सकेन । त्यसबेला कृषि बजारले ५ हजर ६ सय मेट्रिक टनको कारोबार गर्दा १ लाख ५० हजार मूल्य बराबरको कारोबार भएको थियो । यस्तै ०७०÷०७१ मा प्रतिकेजी १५०, ०७१÷०७२ मा १२० मूल्य भएको अदुवाको भाउ आर्थिक बर्ष ०७२÷०७३ मा ह्वात्तै घटेर ६० रुपैयामा कारोबार भएको थियो । त्यसपछिका बर्षहरुमा अदुवाको मूल्य आरालो लागेको कृषि बजार उपजले जनाएको छ । बजारका व्यवस्थापक भट्टराईका अनुसार आर्थिक बर्ष ०७३÷०७४ मा ३० रुपैयामा कारोबार भएको अदुवा ०७४÷०७५ मा भने मूल्य बढेर प्रति केजी १ सय रुपैया पुग्दा कृषकहरुलाई ठूलो राहत मिलेको थियो । तर यो बर्ष इतिहासकै उच्च मूल्य कायम हुदा कृषक तथा व्यापारीहरु लाभान्वित भएको व्यवस्थापक भट्टराई बताउनुहुन्छ । तर अहिले पुन ः मूल्य घटेर ८० देखि ८५ रुपैया पुगे पनि कृषकहरु मारमा नपरेको् बताउनुभयो । कृषकहरुले उत्पादन गरेको कृषि सामाग्री त्यसमा पनि अदुवाको मूल्य सन्तुलित नहुनुमा अदुवाको बजार नेपालमा नभई भारतीय बजार भएकोले व्यवस्थापक भट्टराई बताउनुहुन्छ । भारतले नेपालबाट अदुवा निर्यात गर्ने गरेको र भारतले तोकेको मूल्यमा कृषक तथा व्यापारीले खरिद विक्री गर्नुपर्ने अवस्था रहेकोले पनि अदुवाको मूल्य स्थिर हुन नसकेको कृषि बजारले जनाएको छ । नेपाली कृषकले उत्पादन गरेको अदुवाको बजार नेपालभित्रै गरिदिने हो भने पनि कृषकहरुले ठूलो राहत पाउने कृषक तथा व्यवसायीहरु बताउँछन् ।
