धरान । धरान उपमहानगरपालिका वडा नं. ५ मा पर्ने अधेरी खोलाको निर्माणाधीन पुल निर्माण कार्य रोकिएर अलपत्र परेको छ । नजिकै रहेको सेउती खोलाको पुल निर्माण भएको ८ बर्ष वितिसक्दा पनि अधेरी खोलामा बन्दै गरेको पुल भने ठेकेदार कम्पनीले काम गर्दा गर्दै बीचैमा छोडिदिएका कारण सर्वसाधारणले पुल अभावमा सास्ती भोग्नु परेको छ । यो पुल निर्माण सम्पन्न गर्ने ठेक्का इनरुवाका हजमुल मियाँले जिम्मा लिएका थिए । ठेकेदार मियाँले निर्माण कार्य बीचैमा छोडेर भागेपछि अहिले पुलको काम नहुदा वडावासीहरुले सास्ती भोग्नु परेको वडाध्यक्ष मनप्रसाद लिम्बुले बताउनुभयो ।
मुलुकमा गणतन्त्र आएपछि ०७४ सालमा भएको पहिलो स्थानीय निर्वाचन पश्चात पुल निर्माणको काम शुरु भएको थियो । पहिलो निर्वाचनताका शुरु भएको यो पुल दोस्रो निर्वाचन सकिएर यतिका बर्ष वितिसक्दा पनि निर्माण हुनसकेको छैन । पुल निर्माण सम्पन्न गर्नका लागि कोशी प्रदेशका म्ुख्यमन्त्री, संंघीय सांसददेखि प्रदेश सांसदलाई स्थानीय सरकारले अनुगमन गरायोे तर पनि पुल निर्माणको कामले गति लिन सकेको छैन ।

ठेकेदार हजमुल मियाले इमान्दारिता नदेखाएकै कारण पुल समयमा निर्माण हुन नसकेको स्थानीयहरुले बताएका छन् ।ठेकेदारले काम लगाउने तर काम गरेको ज्याला नदिने गरेर मजदुरलाई समेत ठेकेदारले बारम्बार दुःख दिने गरेको स्थानीयले बताएका छन् । यो पुल निर्माण सम्पन्न नहुदा सबैभन्दा बढी समस्या यहाँका कृषक, विद्यालय पढ्ने विद्यार्थी तथा स्थानीयहरुले सास्ती भोग्नु परेको छ । यहाँका विद्यार्थीहरु धरानका विभिन्न स्थानमा अध्ययन गर्न आउने गरेका छन् भने कृषकहरुले उब्जाएको सब्जी बजारसम्म ल्याउने गरेका छन् । हिउदको समयमा आउजाउमा केही सहज भएपनि बर्षादको समयमा आउजाउमा मुस्किल हुने वडाध्यक्ष लिम्बुले बताउनुभयो यो पुल संघीय सरकारको भौतिक योजना तथा निर्माण मन्त्रालयबाट बजेट विनियोजन भएर निर्माण शुरु भएको हो । अहिले यो पुलको काम ७० प्रतिशत पनि भएको छैन । करिब सोढ ७ करोडको लागतमा ठेकेदार मियाँले ठेक्का लिएका थिए । २०७४ सालबाट निर्माण शुरु भएको यो पुलको सम्पन्न गर्नुपर्ने म्याद भने २ वर्ष अर्थात २०७६ असार २५ गतेसम्म रहेको थियो । म्याद गुज्रिएर पनि पटक पटक थप गरेको समयमा समेत ठेकेदारले पुल निर्माण गर्न सकेको छैन । भखरैमात्र अधेरी खोलामै झोलुंगे पुल निर्माणको उद्घाटन गर्न आउनु भएका संघीय शिक्षा तथा प्रविधि मन्त्री अशोक कुमार राईले निर्माणाधीन पुलको विषयमा बुझ्ने काम समेत गर्नुभएको थियो । पुल निर्माण नभएको विषयमा ५ नं. वडा समितिले मन्त्री राईलाई जानकारी समेत गराएको थियो तर पनि यस विषयमा संघीय सरकारले समेत चासो देखाएको छैन । पुल निर्माण सम्पन्न नभएकै कारण अहिले पर्नि धरान ५ का सर्वसाधारणको दिनचर्या नै कठिन रहेको े छ ।
