काठमाण्डौ । भारतीय राजदुतावास काठमाण्डौद्वारा कार्तिक ९ गते विहीबार कप्तान रोहित पौड्याल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरुलाई दुतावासमा स्वागत समारोहको आयोजना गरियो । उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सरिन स्पोट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याट सहितका व्यवसायिक क्रिकेट सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौड्याललाई हस्तान्तरण गर्नुभयो ।

उक्त सामाग्रीहरु बीपी कोइराला भारत–नेपाल फाउन्डेशन र भारत सरकारको स्वामित्व रहेको सतलज जलविद्युत निगम (एसजेभिएन) का तर्फबाट भारतीय दुतावासले प्रदान गरेको हो । यसैगरी नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदुत श्रीवास्तवलाई टोलीले हस्तान्तरण गरेको जर्सी उपहार स्वरुप प्रदान गर्यो । सो अवसरमा बोल्दै भारतीय राजदुत श्रीवास्वतले हालै सम्पन्न एसियाली कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीले गरेको बेजोड प्रदर्शनको प्रशंसा गर्नुभयो । उहाँले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपाल बीचको जनता–जनताबीचको सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो । उहाँले आगामी त्रिदेशीय टि–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट शुरु हुने आइसिसी टि–२० विश्वकप छनौटका लागि क्रिकेट टोलीलाई शुभकामना दिनुभयो । यसैगरि नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, संघका सचिव पारस खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाइले भारतीय राजदुतावास, बीपी कोइराला भारत–नेपाल फाउन्डेशन, एसजेभिएनलाई धन्यवाद दिनुभएको थियो । उहाँहरुले क्रिकेट सामाग्रीको हस्तान्तरणसँगै भारतीय दुतावास र नेपाल क्रिकेट संघबीच सहकार्य यात्राको शुरुवात भएको बताउनुभयो । भारतीय राजदुतावास काठमाण्डौले यस अघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई बस उपलब्ध गराउनुका साथै बीपी कोइराला भारत–नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मे सम्म कोलकोत्तामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो ।


