काठमाण्डौ । भारत सरकारको आर्थिक सहयोगमा नेपालको अति दुर्गम पहाडी जिल्ला हुम्लामा दुई विद्यालय भवन निर्माण भएका छन् । भारतीय राजदुतावास काठमाण्डौद्वारा असोज ३० गते जारी विज्ञप्तीका अनुसार नवनिर्मित ती दुई विद्यालय भवनको छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी भारतीय राजदुत नविन श्रीवास्तव र स्थानीय जनप्रतिनिधिले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।
नेपाल भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु ५.५२३ करोड अनुदान सहयोगमा सर्के गाउँपालिकास्थित सरस्वती माध्यामिक विद्यालय र चंखेली गाउँपालिकास्थित महादेव माध्यामिक विद्यालय भवन निर्माण भएको हो । नव निर्मित दुवै विद्यालय भवनमा ल्याब, पुस्तकालय भवन समेत रहेका छन् । सो अवसरमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीयहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
यसैगरी नेपाल भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु १ करोड ९२ लाख रुपैयाँको आर्थिक सहयोगमा काठमाडौको वालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यामिक विद्यालय भवन निर्माण सम्पन्न भएको छ । उक्त नव निर्मित भवनको भारतीय राजदुताबासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र काठमाण्डौका प्रमुख जिल्ला अधिकारी सन्तोष बुढाथोकीले विशेष कार्यक्रमका बीच समुद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो ।

भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीका अनुसार नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारले उपलब्ध गराएको उक्त अनुदान रकमबाट तीनतले विद्यालय भवनको निर्माण, आवश्यक फर्निचरमा खर्च गरिएको थियो । भारत सरकार र नेपाल सकारबीच भएको सम्झौता अनुरुप उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा निर्माण गरिएको हो । जिल्ला समन्वय समिति काठमाण्डौले उक्त परियोजना कार्यान्वयन गरेको हो । उद्घाटन समारोहमा बोल्दै दुतावासका नियोगका उप–प्रमुख प्रसन्न श्रीवास्तवले भन्नुभयो परियोजना नेपाल र भारतबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण अंश हो । दुई देशबीचको यो साझेदारीले पछिल्ला बर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । उहाँले भन्नुभयो, नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरुप दुवै देशका जनताको हितका निम्ति दुई देशबीचको विकास साझेदारी अझ मजबुत बनाउन भारत सरकार सदैव प्रतिबद्ध रहेको छ ।
विज्ञप्तीमा भनिएको् छ, महेन्द्र राष्ट्रिय माध्यामिक विद्यालयको स्थापना जागरुक शिक्षकहरुको संयुक्त प्रयासमा सन् १९५६ मा खुल्ला मैदानमा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको थियो । नेपाल सरकारले सन् १९७३ मा उक्त विद्यालयलाई प्राथमिक विद्यालयको रुपमा मान्यता दिएको थियो । सन् १९९५ मा निम्न माध्यामिक तहमा स्तरोन्नति भएको सो विद्यालय सन् २००० मा माध्यामिक र पछि उच्च माध्यामिक तहमा स्तरोन्नति भएको थियो । हाल विद्यालयमा ६ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । जसमध्ये ५० प्रतिशत छात्रा रहेका छन् । स्थापना कालदेखि नै उक्त विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ ।
सन् २००३ यता भारतले नेपालका विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अगाडि बढाएकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये काठमाण्डौका ४० गरी बागमति प्रदेशमा १०५ रहेका छन् । यसका अतिरिक्त भारत सरकारले आफ्नो स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्यचौकी, तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २४३ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । भारत सरकारले् हालसम्म काठमाण्डौमा ६९ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपलब्ध गराएको छ । निकट छिमेकी भएकोले भारत र नेपालबीच ब्यापक एवम् वहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणले नेपाली जनताको उत्थान गर्न तथा शिक्षा जस्ता प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा भारत सरकारले गरेको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको छ ।
