सन्दकपुर (इलाम) । पर्यटकीय एवम् सीमा सुरक्षाको दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङको सिंहलिला नेशनल पार्कसँग जोडिएको इलामको सन्दकपुरमा निर्माणाधीन गेष्ट हाउसको काम अन्तिम चरणमा पुगेको छ । सन्दकपुर गाउँपालिका वडा नं. २ को सन्दकपुर डाँडामा आज भन्दा ४ बर्ष अगाडि गाउँपालिकाको सुपरभिजन र प्रदेश सरकारको २ करोड ५२ लाख रुपैयाँको लागतमा निर्माण थालिएको गेष्ट हाउस दशगजा क्षेत्रको विवाद र बजेट अभावका कारण झण्डै १८ महिना निर्माण कार्य रोकिन पुगेको थियो ।


सन्दकपुर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष एवम् समाजसेवी सनम राईले दिनु भएको जानकारी अनुसार भारतीय सीमा सुरक्षा बल एसएसबीले दशगजा क्षेत्रमा गेष्ट हाउस निर्माणमा रोक लगाएपछि केही समय काम स्थगित गर्नुपरेको थियो । तर पछि इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख, स्थानीय निकायका प्रतिनिधि, राजनैतिक दलका स्थानीय प्रतिनिधि र भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुबीच पशुपतिनगरमा भएको छलफलमा एउटा भद्र सहमति (न्भलतभि ब्नचभझभलत) भएको थियो । अध्यक्ष राईका अनुसार भद्र सहमतिमा दुवैतर्फ कुनै भौतिक संरचना निर्माण गर्दा दशगजाबाट ३० मिटर छोडेर निर्माण गर्नुपर्नै भयो । सोही अनुरुप पहिला निर्माण थालिएको स्थानबाट केही तल सारेर निर्माण गर्न थालियो । अध्यक्ष राईले भन्नुभयो गेष्ट हाउसको दुई तलाको काम हाल अन्तिम चरणमा पुगेको छ । सन्दकपुर पर्यटकीय दृष्टिले अत्यन्तै मनमोहक छ । सन्दकपुरमा आउने पर्यटकहरुलाई मध्यनजर गरेर गेष्ट हाउस निर्माण थालिएको हो । गेष्ट हाउससँगै सन्दकपुर डाँडामा भ्युटावरको काम समेत थालिएको थियो । तर भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माण कार्य रोकेपछि अब त्यस ठाउँमा भ्युटावर नबन्ने भएको छ । अब उक्त स्थानमा भ्युपइन्ट मात्र रहने अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँका अनुसार सन्दकपुर आउने पर्यटकहरु हालसम्म गोठस्टेमै बस्दै आएका थिए । भारत, बंगलादेश, चीनसँगै नेपालबाट पुग्ने आन्तरिक पर्यटकहरुको बसाई सहज होस् भन्ने हेतुले गेष्ट हाउस निर्माण थालिएको पनि उहाँले प्रष्ट पार्नुभयो ।
