धरान । एक एक महिनामा सरकार परिवर्तन भइरहेको कोशी प्रदेशमा फेरि अर्को नाटकको मञ्चन भएको छ । दलहरुले एकल र संयुक्त रुपमा सरकार बनाएर प्रदेशलाई स्थायित्व दिन नसकेपछि प्रदेश खारेजीको लागि समेत चौतफी आवाज उठ्न थालेको छ । असोज २० गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रयोजनका बोलाइएको प्रदेशसभा बैठक शुरु हुनुभन्दा अगाडि नै राजीनामा दिएपछि थप अन्यौल सिर्जना भएको छ ।

राजीनामा दिएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशी प्रदेशको मुख्यमन्त्रीको नियुक्तिका लागि असोज २६ गते अपरान्ह ५ बजे आफ्नो दाबी पेश गर्न सांसदहरुलाई आव्हान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले सविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेशसभामा उपस्थित दल नभएर व्यक्तिगत रुपमा वहुमत सिद्ध गर्न सक्नेलाई आवहान गर्नुभएको छ । राजनैतिक विश्लेषकहरु भन्छन् अब दलको हैसियत समाप्त भएको मान्नुपर्छ । उपधारा ५ बमोजिम समेत सरकार गठन हुन नसके कोशी प्रदेशमा मध्यावधि निर्वाचत निश्चित छ ।
