सिटी सफारी व्यवस्थापनमा सम्बन्धित निकाय गम्भीर दर्ता र लाइसेन्स प्रक्रियालाई अगाडि बढाउन पहल शुरु

धरान । धरानको लागि ई  रिक्सा (सिटी सफारी) ट्राफिक व्यवस्थापनको लागि टाउको दुखाइको विषय बनेको छ । सिटी सफारी व्यवस्थापनका लागि धेरै प्रयासहरु भए, दर्ता प्रक्रियालाई आगाडि बढाइयो तर अधिकांश सिटी सफारी दर्ता नै छैनन् भने धेरैको लाइसेन्स समेत छैन । यसैलाई मध्यनजर गरी सिटी सफारी व्यवस्थापनका लागि स्थानीय सरकार धरान उपमहानगरपालिका र जिल्ला टूाफिक प्रहरी कार्यालय सुनसरीले संयुक्त पहल थालेका  छन् । ई–रिक्सा (सिटी सफारी) ट्राफिक व्यवस्थापनमा धरानको मात्र हैन सबै सहरहरुको टाउको दुखाइको विषय बनेको छ । केही समय अगाडि इटहरी उपमहानगरपालिकाले सिटी सफारीलाई व्यवस्थापन गरेसँगै अहिले धरान उपमहानगरपालिकाले समेत जिल्ला टूाफिक कार्यालयसँग समन्वय गरेर व्यवस्थापनको प्रक्रिया अगाडि सारेको हो ।


धरानको भानुचौकमा सबै सिटी सफारी चालकलाई जम्मा गरी यस सम्बन्धी जानकारी दुवै निकायले गराए । सिटी सफारी प्रक्रियागत रुपमा सञ्चालन गर्न र ट्राफिक नियम पालन गर्न सुझाए । व्यवस्थापन गर्न सहयोग गर्न चालकहरुलाई अनुरोध गरे । तर सिटी सफारीहरुले उनीहरुहरुको आग्रहलाई मनन गर्दै सिटी  सफारीले भोग्नुपरेको समस्याका विषयमा खुलेर सम्बन्धित निकायलाई बताए । उनीहरुले सिटी सफारीको निश्चित स्टेण्ड नभएकोे, राखिएको ठाउँबाट टेम्पो चालकले अवरोध गर्ने भन्दै व्यवस्थापनमा सम्बन्धित पक्ष गम्भीर नहुँदा भानुचौक एरिया जाम हुने गरेको बताएका थिए । उनीहरुले पटक पटक स्थानीय सरकारले आफूहरुको समस्या समाधानका लागि गुहार्दा समेत कुनै सुनुवाई नभएको नेपाल श्रमिक नेपाल सिटी सफारी  धरानकी सचिव रिना लामाले बताउनुभयो । स्थानीय सरकार धरान उपमहानगरपालिकाले दर्ता प्रक्रियामा आउन पटक पटक आवहान गर्न सूचना जारी गर्दा पनि नआएकोले व्यवस्थापन गर्न समस्या भएको बताएको छ ।  धरानमा ५ सयदेखि ७ सय सम्म ई–रिक्सा सञ्चालनमा आए पनि अहिले चारवटामात्र उपमहानगरपालिकामा दर्ता भएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताउनुभयो ।  जिल्ला ट्राफिक प्रहरीले भने बढ्दै गएको समस्या समाधानको खाँचो रहेकोले अहिले सबैलाई भेला गराएर कार्यक्रमको आयोजना गरेको जनाएको छ । लाइसेन्स नहुनेले लाइसेन्स लिने र दर्ता नभएकाहरुले दर्ता प्रक्रियामा जाने र ट्राफिक नियमलाई गम्भीर भएर पालना  गरेमात्र धेरै समस्या समाधान हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख सुवास केसीको भनाई छ । यता सफारी चालकहरुले समेत दुर्घटनामा सवारी चालकहरुको लापारबाहीले समेत धेरै दर्घटनाहरु बढेको बताएका थिए । नियमनकारी निकायले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अनि सवारी चालकले समेत ट्राफिक नियम आफैको लागि सोचेर पालना गर्ने हो भने धरानमा हुने टूाफिक जाम, दुर्घटनाको जोखिम कम भएर जाने बताएका थिए । वास्तवमै जिल्ला टूाफिक प्रहरी कार्यालय सुनसरी र धरान उपमहानगरपालिकाले सिटी सफारी व्यवस्थापनका लागि चालेको कदम सह्रानीय छ । विगतमा समेत नियन्त्रणका प्रयासहरु भएकै थिए तर प्रभावकारी रुपमा हुन सकेको थिएन । नियमनकारी निकाय र स्वयम् सवारी चालक गम्भीर भएर अहिलेको समस्या समाधानतर्फ लाग्ने हो भने समस्या ठूलो कुरा नभएको सम्बन्धित पक्षहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया