घण्टाघरबाट हेर्दा

हात्ती आयो हात्ती आयो फुस्सा
राज्येको करोडौ ढुकुटी खर्च गरेर नन्दी, भृंगी, भूत पिसाचको लावा लस्कर लिएर अम्रिका र चीनतिर सोझिएर फर्किएका पर्धानमन्तरीले राम्रै कोशेलीपात लिएर आउलान् भन्या त हात्ती आयो हात्ती आयो फुस्सामात्र भयो । अम्रिकाले त सुँघाएर पठाइदिएछ । जात भाइको नाता लगाएका चीनले त केही न केही दिएर पठाउलान् भन्ने घण्टाघरलाई लाग्या थियो त्यो नि हातालागी शून्य भएछ । चीनबाट यो ल्याउँछु र त्यो ल्याउँछु भनेर डिङ्ग हाक्थे । भोटेहरु कम्ता चलाख छैनन् । दिन भन्दा लिन माहिर । गोडासातेक दिन घुमघाम गराई दिएछन्, खानपिन मस्त गराइदिएछन् । त्यसपछि त सर्पको अगाडि विन बजाए झै प्रचण्डाउ फनफनी हल्लिएर फर्किएछन् । जाबो उतरतिरका एक दुई नाका सम्म खोलाउन सकेनछन् । तर नेपालाँ फर्केर राम्रै डिङ्ग हान्देछन् । प्रचण्डाउको खुबी नै यही हो डिङ्ग हान्दिने । कि कसो हौ ?– गाँडे


दशैमा उपहारै उपहार
वर्तमान अष्टबक्रकको सरकारले दशैको मुखमा आएर नेपाली जनतालाई थला पर्ने गरी उपहार दिएछ । अष्टबक्रको माने आठ दले गाँड जोड सरकारले आफ्ना जनतालाई दशैको मुखमा बम्पर उपहार दिनु कम्ता खुशीको कुरा हैन ? अब हेरम न पेट्रोल, खाना पकाउने ग्याँस, चिनी,खाद्यान्न, फलफूल, आलु, प्याज सबैमा डंगै बढाइदिएछ । कुनैपनि कुरा घटेको छ पक्कै राम्रो हैन । बढेकै राम्रो । अर्काको घरमा ढुंगा हानेर ल्याएको गाँडतन्त्र न प¥यो । अनि गाँडतन्त्र सञ्चालन गर्न अष्टब्रेक दलहरु । एकथरि सरकारले महँगी बढायो मुर्दाबाद भन्छन्, बेबकुफहरु फुइøयाँको मुर्दाबाद ? गाँडतन्त्र अहामा आकाशबाट असर्फी बर्सेला झै गर्थे । पायौ नि हातभरि नर्कको विस्टा ।  –जगते
भाते कार्जेकर्ता कता मुन्टे
हिजोआज राजनैतिक दलका भाते कार्जेकर्ताहरु ओथारो बसेछन् कि क्या हो ? केही चाइचुइँ छैन । पहिला पहिला त एक रुपैया महँगी बढ्यो भने सडककाँ टायर बाल्थे, चक्का जाम गर्थे, ढुगामुढा गर्थे, बजार पसल बन्द गर्थे । अबचाहिँ तिनका रगतमा त्यो तागत सिद्धिएछ । हुन त मूल्य बढाउने तिनकै मालिक सत्तामा छन् । मालिकको आदेश पालना त गर्नैप¥यो । आफ्ना मालिक सत्तामा हुँदा ढुंगामुढा चक्काजाम त गर्नै भएन । नत्र फुइøयाँको भात कार्जेकर्ता ? –भातमारा
हानेछन् माकुनेले जाल
फ्रि भिषा फि टिकटका अभियन्ता माकुनेको कुरा सुन्दा घण्टाघरलाई खित्का छाडेर हाँस्न मन लाग्यो । अर्काको वैसाखी टेकेर हिँड्ने, आफू एक्लै उभिन सक्ने हैसियत नभा’का माकुनेले अस्तिका दिन देश र जनताको पक्षमा सदैव उभिन्छु भन्देछन् हुटिट्याउँले आकाश थामेको छु भनेझै । वर्तमान अस्ष्टबक्रकको सरकार ढल्ने वित्तिकै माकुनेलाई बत्ती बालेर खोज्दा नि भेटिदैन । तिनै माकुने देश र जनताको पक्षमा सदैव उभिने डिङ्ग हाक्दा लाटाले नि पत्याउदैन । हुन त माकुने भन्या नै हावादारी गफका पुलिन्दा हुन् । हावा जोतेरै विचरा टिक्या छन् । के गर्नु धन्दो न हो । विचराले जेहेनतेहेन धन्दोको पसल चला छन् ।  –पुतली जुँगे
मिसन ८४
यतिबेला झिना, मसिना, भुरे पार्टीहरु मिसन ८४ भनेर दौडिया दौडियै छन् । आफूलाई जखमले सम्झनेहरु सुन बोक्नमै मस्त छन् । यी जखमलेहरुलाई मिसन ८४ सँग बाल मतलब छैन । होस पनि कसरी मिसन ८४ सम्म डग्ने हुन् कि नहुन् । मिन ८४ मा होमिने ल्याकत तिनले गुमाइसक्या छन् । मिसन ८४ मा लाँग्रेस १५, झालेमाले ऐजन ऐजन, प्रचण्डाउको बुख्याँचा दुई चार, माकुनेको काशी बास, बाँकी नव झोलेहरुको पोल्टामा । त्यसैले मिशन ८४ भन्नसाथ जखरमालेहरुलार्ई अहिल्यैदेखि निन्द्रा हराउन थाल्या छ । मिसन ८४ बाट बढारिने डरले राष्ट्रिय भाउजुको घाँटीमा गलगाँड निस्कन थाल्या छ रे । भाउजुका भित्रिया ठोकन थापाहरु पलायनको बाटो खोज्दै छन्  रे । यस्तै हो कभि किसका पल्ला  भारी कभि किसका । –अकबरे माइला
राष्ट्रपतिको काम
नेपालमा तेस्रा राष्ट्रपति रामचन्द्र बाजेको हिजोआज सर्वत्र प्रशंसा हुन थाल्या छ । जता गए नि बाजेकै प्रशंसा छ । फेरि उनको प्रशंसा गर्ने झिनामसिना सडक छापहरु छँदै छैनन् । जेलमा बसेका हत्यारा, बलात्कारी, ठगी मुद्धा खेप्दै गरेका मिटर व्याजीहरु  छन् । गणतन्त्र दिवस आउनु हुँदैन, संविधान दिवस आउनु हुँदैन । धमाधम बाजे अदालतको निर्णयलाई पन्छाउँदै उनीहरुलाई स–सम्मान जेलबाट छुटाउँछन् । तिनलाई भव्य स्वागत गर्न लगाउँछन् । हत्यारा बलात्कारी..हरुका लागि बाजे विधाता नै भएर देखा  परेका छन् । प्रचण्डाउ र ¥याले काजीले ज–जस्लाई छोड्न सिफारिस गर्छन् ती सबै सर्लक्कै छुट्छन् । आखिरी राष्ट्रपति त रामचन्द्रे बाजे जस्तो हुनुपर्छ । यस भन्दा अगाडिका गलगाँडा र गलगाँडी जस्ता हुन र बाजे ? गलगाँडा र गलाँडीहरुले ज्यान गए नि त्यस्तो काम नगर्दा
चौतर्फी आलोचना  भयो ।– डल्ले
अरथ मन्तरी ऋण माग्दै
हाम्रा अरथमन्तरी लाज शरण महतले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन अन्तर्राष्ट्रिय जगतसँग अस्तिका दिन आग्रह गरेछन् । हरेक नेपालीको थाप्लोमा राज्यले ९० हजार ऋण थोपर्दैकै छ । यी लाजशरणचाहिँ अझै ऋण थोपर्र्न खोज्दैछन् । नेपालका मन्तरीहरु विदेश जाँदा उताको सरकार अब फेरि के माग्न आयो नि भनेर चिन्ता गर्छन् रे । जता गए नि मागेरै हैरान बनाए नेपालका मन्तरीहरुले । आफूले कहिल्यै कसैलाई केही दिन जान्या छैन । मागी मागी बाबाजी घि भात खाता है भन्या यही हो । – नकचरा
अन्तेमा
रवि लामिछाने नाम गरेका गलगाँडाले पर्धानमन्तरी प्रचण्डाउले बोलाएको सर्वदलीय मान्यता प्राप्त पार्टीको बैठक बहिष्कार गर्दैछन् । के निहुँ पाउँ कनिका बुक्याउँ भनेझै लामिछानेले हिरो पल्टन बैठक बहिष्कार गरेछन् । पर्धानमन्तरीले बोलाएको बैठकमा थपक्क जानु पर्दैन ? हुन त लगौटीको जुम्रा टाउकोमा पुगेपछि बढी नै  रगरगाउँछ भन्थे हो रै’छ । एक बर्ष अगाडि जन्मेको, आँची धुन राम्रोसँग नजान्याले बैठक बहिष्कार गरेर किन लोक हँसाएको होला ? – लठेब्रो

तपाईको प्रतिक्रिया