एनडिसी टोलीको पाँच दिने नेपाल भ्रमण

काठमाण्डौ । भारत, जर्मनी, बंगलादेश, श्रीलंका, साउदी अरब, बेलायत र ओमानका निजामति सेवा तथा रक्षा बलका १६ सदस्यीय बरिष्ठ अधिकारी सम्मिलित राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६३ औं कोर्षको प्रतिनिधि मण्डलले नेपालको पाँच दिने भ्रमण गरेको छ ।  भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीका अनुसार ती सात वटा देशका निजामति तथा रक्षा बलका अधिकारीहरुले भाद्र १० देखि १४ गते (अगस्त २७ देखि ३१ सम्म) नेपालको भ्रमण गरेका थिए ।


भारतीय एयर भाइस मार्सल मनिषकुमार गुप्ताको नेतृत्वमा नेपाल आएको उक्त भ्रमण टोलीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल,  रक्षामन्त्री पूर्णबहादुर खड्का,  परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग उहाँहरुकै कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेको थियो । उक्त टोलीले एनडिसीका भूतपूर्व विद्यार्थी एवम् नेपाली सेनाका प्रधान सेनापति  महारथी प्रभुराम शर्मासँग पनि उहाँकै कार्यकक्ष जंगी अड्डामा भेटवार्ता  गरेको थियो । भेटका क्रममा एनडिसीका पदाधिकारी र प्रधान सेनापति महारथी शर्मा बीचमा द्विपक्षीय शैन्य सहकार्यका विषयमा छलफल भएको विज्ञप्तीमा जनाइएको छ । यसैगरी नेपालको पाँच दिने भ्रमणमा रहँदा उक्त एनडिसी टोलीले पोखरास्थित पश्चिम पृतना मुख्यालय पोखराको भ्रमण गरी बरिष्ठ सैन्य अधिकारीहरुसँग भेटवार्ता गरेको थियो ।
भ्रमण टोलीले राष्ट्रिय मार्ग तथा रणनीतिका व्यापक पक्षहरुका सम्बन्धमा बरिष्ठ रक्षा तथा निजामति सेवाका अधिकारीहरुलाई प्रशिक्षण दिने एनडिसी विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरुध्येको एक हो । भारतीय रक्षा बल तथा निजामति सेवाका बरिष्ठ अधिकाारीहरुका साथै मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीहरुले सो कोर्षमा सहभागिता जनाएका थिए । हाल सञ्चालन भइरहेको सो कोर्षमा नेपाली सेनाका ३ अधिकारी सहभागी छन् । सन् १९९२ यता नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासहित १८ जना वहालवाला नेपाली सेनाका अधिकारी र सेवा निवृत्त अन्य २४ जना अधिकारीले एनडिसीबाट प्रशिक्षण लिइसकेका छन् । नेपालको पाँच दिने भ्रमणमा आएको उक्त टोलीलाई काठमाण्र्डाैस्थित भारतीय राजदुतावासका रक्षा सहचरी कर्णेल अमित शर्माले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया