१४४ औं ं मोति जयन्तिको अवसरमा धरानमा समस्यापूर्ति कविता वाचन गरिने

धरान । नेपाली साहित्य, कविता एवम् गजल क्षेत्रका अविस्मरणीय व्यक्तित्व युवा कवि मोतिराम भट्टको १४४ औं जन्मजयन्तिको अवसरमा धरानमा यसपटक समस्यापूर्ति ‘लाज आफै लजायो’ शीर्षकमा कविता वाचन हुने भएको छ । यही भाद्र २८ गते मोति संस्करण समितिको आयोजनामा हुने कविता वाचनमा नेपाल शिक्षा परिषद काठमाण्डौले लाज आफै लजायो शीर्षक अन्तर्गत कविता वाचन कार्यक्रम सञ्चालन गर्न गरेको आग्रह अनुरुप विगतमा भन्दा भिन्न ढंगले मोती जयन्ति मनाउन लागिएको प्रा.डा. गोपाल भण्डारीले जानकारी दिनुभयो ।


प्रा.डा. भण्डारीका अनुसार नेपालमा मोति जयन्ति धेरै अघिदेखि मनाइदै आएको हो । उहाँ राष्ट्रबाटै सम्मानित राष्ट्रिय विभूति भएपनि हाल राष्ट्रले कुनै वास्ता नगरेको भएपनि तामम साहित्यकारले उहाँलाई राष्ट्रिय विभूतिकै रुपमा मानेका छन् । समस्यापूर्तिको कविताको प्रारम्भ युवा कवि मोतिराम भट्टले नै गर्नुभएको थियो । उहाँले बनारस पढ्दा त्यहाँ एउटा कविहरुको समूह गठन गर्नुभयो । त्यसलाई पछि मोति मण्डली भनियो । त्यसपछि काठमाण्डौ आएपछि एउटा कविहरुको समूह गठन गर्नुभयो त्यसलाई पनि मोति मण्डली नै भनियो । बनारस र काठमाण्डामा गठन भएको मोति मण्डलीमा जस्तै ‘पसिना फल्छ मोति झँै’ एउटा शीर्षमा सबै कविले आ–आफ्नो भाषामा, छन्दमा, भावनामा परिपूर्ति गरेर सुनाएर कविताको विकास गर्ने परम्परा बसाल्नु भयो, त्यसैलाई समस्यापूर्ति भनियो । समस्यापूर्तिकै प्रारम्भ मोतिराम भट्टले गर्नुभयो तर बीचमा यस्ता कार्यक्रम रोकिएको थियो । पछि २००८ सालमा नेपाल शिक्षा परिषद्को स्थापना भयो र गोपाल पाण्डे असिमले मोति जयन्ति, भानु जयन्ति मनाउनुपर्छ भन्ने धारणा स्थापित गर्नुभयो । मोतिराम भट्टले स्थापना गर्नुभएको समस्यापूर्ति कविता शैलीलाई निरन्तता दिनु पर्छ भनेर स्थापित गर्नुभयो । पहिला यस्ता कार्यक्रम काठमाण्डौभित्र सीमित थियो र पछि देशभरिका कवि लेखकले यसलाई आत्मसात गरे । २०२२÷२०२३ सालमा बालकृष्ण सम पनि मोति जयन्तिको शिलशिलामा धरान आउनु हुँदा समस्यापूर्ति कविता गोष्ठी पहिलो पटक धरानमा सञ्चालन भएको थियो । यसपटक शास्त्रीय छन्दमा कविहरुले सार्दुल लवि विकृत छन्दमा, अरु छन्दहरुमा एक दुई श्लोक बनाएर भन्ने, सुन्ने प्रचलन हुने भएको छ । हाल नेपाल शिक्षा परिषदको अध्यक्ष प्रा. रमा शर्मा रहनु भएको छ । यस भन्दा अगाडि स्व. माधवप्रसाद घिमिरे अध्यक्ष  रहनु भएको थियो । शर्माकै निर्देशनमा समस्यापूर्ति कविता वाचन हुन लागेको प्रा.डा. भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया