धरान । टेन्ट व्यवसायी समाज धरानद्वारा सोमबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ५६ पिन्ट रगत संकलन भएको छ । विगत केही दिनयता धरानमा फैलिएको डेंगु महामारीका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको चरम अभाव भएपछि समाजले थोरै भएपनि रगतको अभाव परिपूर्ति होस् भन्ने उद्देश्यले धरानको छाताचौकमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

रक्तदान कार्यक्रमको औपचारिक उद्घाटन धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले गर्नुभएको थियो । सो अवसरमा बोल्दै बेघाले टेन्ट व्यवसायी समाज धरानले रक्तदान कार्यक्रमको आयोजना गरी मानव हितका लागि उत्कृष्ट कार्य गरेको बताउनुभयो । उपप्रमुख बेघाले समाजले रक्तदानसँगै अन्य सामाजिक कार्यहरु समेत गर्दै आएको र आगामी दिनमा व्यवसायसँगै समाजको हितमा थप गतिविधि बढाउन आग्रह समेत गर्नुभयो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यतिबेला रगतको चरम अभाव भएको छ । संकलित रगतले कैयौ विरामीले पुनर्जीवन पाउने भएकोले समाजको कार्यको प्रशंसा गर्नुभएको थियो ।
