घण्टाघरबाट हेर्दा

किसानकी छोरीको धन्दा
किसानकी छोरी राष्ट्रिय भाउजुले हुमतै लिइन् । पहिला पहिला किसानको छोरी भन्दा गर्वले ढक्क छाती फुल्थ्यो । हिजोआज किसानको छोरी हुँ भन्न कुरी कुरी लाग्न थाल्या छ । किसानको छोरी हुँ भन्न्दा तिनै राष्ट्रिय भाउजुको कच्याककुचुक परेको बेइमानीले भरिएका अनुहार झल्झली याद आउँदो रै’छ । त्यसैले हिजोआज किसानको छोरी हुँ भन्न नव कन्याहरु लजाउँदा रै’छन् । न कहिल्यै एक कोदालो माटो खन्या छ, न कहिल्यै धान  रोपेको छ, न कहिल्यै धान काटेको छ, न कहिल्यै धान सुकाएको छ, न कहल्यै ढिकीमा धान कुटेको छ,, न कहिल्यै एकमुठ्ठी घाँस काँटेको छ, न कहिल्यै गाई, बाख्रा पालेको छ । तर पनि किसानकी छोरी रे । मसिटिज कारमा हिड्या छ, आफ्नै देशका नागरिकलाई भुटानी बनाएर रकम बटुलेको छ, सुन तस्करीमा कनेक्सन मिलाएको छ, कर्मचारी, प्रहरीको सरुवा बढुवालाई व्यापार बनाएको छ । माने शक्तिको आडमा अक्टोपस जस्तै सोहोरेको छ । अनि पदचाहिँ कृषि संसदीय समितिको सभापति रे ।– धुन्धुकारी


चाटुकारहरुको जगजगी
काँग्रेसभित्र चाटुकारहरुको जगजगी नै भयो । काँग्रेसका र्याले मुखियाले आफ्नो विहान बेलुकै मालिस गर्ने, दैनिक हात मोल्दै गएर अनुहार देखाउने, भान्सामा तरकारी र फलफूल बोकेर धाउने सरम छाडाहरुलाई पदीय पगरी भिराइ दिएछन् । चाकडी नगर्ने, गाउँमा बसेर काम गर्नेहरुलाई उत्तानो टाङ लगाइदिएछन् । र्याले मुखियाले जे गर्छन् अवसरवादी र चाकडीवाजलाई नै गर्छन् । अब हेरम न प्रदेश समन्वय विभागमा कृष्णचन्द नेपाली, महिला विभागमा पुष्पा भुषाल, उद्योग व्यापारमा चीनकाजी श्रेष्ठ, तराई मधेशमा किरण यादव, थारु विभागमा योगन्द्र चौधरी, जेष्ठ नागरिकमा गेहेन्द्र गिरी, पर्यटनमा आङगेलु शेर्पा, गैर सरकारी समन्वयमा रणबहादुर रावल, आदिवासी जनजातिमा दिलमान पाख्रिन, वैदेशिक रोजगारमा प्रकाश रसाइली, पिछडिएको क्षेत्रमा रंगमति साही, आपूर्ति तथा उपभोक्तामा गुरु बराल, जिल्ला सम्पर्कमा नानु वास्तोला, अपांगतामा मदन कृष्ण श्रेष्ठ,उद्यमशीलतामा सीता थपलियालाई काम देछन् । अब लाँग्रेस ह्वात्तै माथि जने भयो । –पवने
हर्कुलाई थ्रेट आयो रे
धरानका हावा मेयर हर्कु राईलाई आक्रमmण गर्ने थ्रेट आयो रे । हैन हर्कुलाई थ्रेड गर्ने हिम्मत कस्ले गर्ला र ? जोसँग नि सिंगल भिड्ने ल्याकत भएका, तित्राको जस्तो थुतुनो भएका हर्कुले मजाक ग¥या होलान् । सम्पूर्ण कुरामा पोख्त अरुबेला जयमसी अप्ठेरो पर्दा मुलबासी भन्दै फलाक्ने हर्कुले अब के स्टण्डबाजी गर्न खोज्या होलान ? घण्टाघर पनि बडो दोधारमा छ । एउटा–एउटा स्टण्ड नगरी बस्नै नसक्ने हर्कुलाई पछिल्ला दिनमा कसैले बाल मतलब दिन छाडेसी’ थ्रेडको स्टण्ड गरेर सहानुभूति खोज्या होला । आखिरी स्टण्डबाज न परे । –मनकान्छे
थर्काएछन् बालेनले
काठमावण्डै महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारे लम्पटहरुलाई थर्काउनुसम्म थर्काएछन् । थर्काउनै पथ्र्यो थर्काए । चोर, डाका नै भन्दिएछन् । नेपालका राजनैतिक पार्टीका नेताहरुको हैसियत चोर र डाका भन्दा माथि उक्सिन सकेको छैन । जस्तो देखे त्यस्तै भन्दिए । बालेनले त लम्पटहरुले राज गर्ने सिंहदरबारमा आगै लगाइदिने धम्की नै दिएछन् । कहिले देखिको भडास बालेनले अहिले आएर निकालेका हुन् । महानगरपालिकाको गाडी शनिवार चलाएको भन्दै सडकमा बल्छी थापेर बस्ने घुस्याहा ट्राफिक प्रहरीले रोकेसी’ बालेनको कन्सिरी नतातिने कुरै भएन । सिंहदरबारे लम्पटहरु साग सब्जी किन्न, सपिङ गर्न समेत सरकारी गाडी दौडाउँछन् । बल्छी थापेर बस्ने सडक छापहरुचाहिँ रोक्ने मिम्मत गर्दैनन् । उल्टै सलाम दिएर बिदा गर्छन् । अनि महानगरको गाडी रोक्ने ? यो त हजम हुनै सक्दैन । –धुन्धुकारी
लिच्चड मुखमन्तरी
कोशी पर्देशका मुख मन्तरीले यतिबेला लिच्चडको हद पार गर्दैका छन् । सर्वोच्च अदालतले बर्खास्त गर्दा, काम चलाउ घोषणा गर्दा नि मुखमन्तरीको कुर्सीमा लिसो टाँसिएझै टाँसिएर बस्या छन् । आँँची गर्नेलाई भन्दा देख्नेलाई लाज भनेझै । अलिकति कुरी कुरी त लाग्नुपर्ने हो । हुन त सर्वाङ्ग नांगो भैसकेसी, भुत्राको कुरी कुरी लाग्छ ? मुख मन्तरी बन्न कि त वहुमत सांसद हुनुप¥यो कि त सबैभन्दा ठूलो दल हुनुप¥यो । दुवै नभएसी’ अनि अदालतको हावा खुवाइदिएसी’ थपक्क हिड्नु पर्दैन । कोशी पर्देशका मुख  मन्तरी र तिनका पिछलग्गुहरु यतिबेला न भाले न पोथीको अवस्थामा छन् । कुन दिन पर्देशका जनताले चुरापोते पठाइदिन्छन् अनि चाल पाउँछन् ।  –बिर्खे
हट्नु परे आन्दोलन गर्ने रे
नेपालका पर्धामन्तरी पुष्पकमल दाहालले सत्ता हँटाइए सडकमा जनता उतारेर आन्दोलन गर्ने रे । जडौरी सरकारका पर्धानमन्तरीले नालायकहरुलाई राम्रैसँग धम्क्याएछन् । नब्बे र उनासीको बृद्धिमा विर्को लागेसी तेत्तीस सिटेले राज गरी रा’छन् । तिन्लाई सधै सिंहदरबारको घुम्ने कुर्सीमा अपानवायु छोड्न र वाल्वाटारमा लम्पसार पर्न दिनुपर्ने रे हैन हौ बोल्दा पनि आफ्नो औकात अनुसार बोल्नु नि । यस भन्दा अघि पनि सरकारबाट हँट्ने सबैले सडकमा जनता उफारेका थिए कि क्या हो ? थुतुनोमा जो मन लायो त्यही फलाक्नु त भएन नि । –च्याँसे काँछा
भ्रष्टहरुको भीडमा पुन
राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुनले नयाँ नयाँ आविस्कारका लागि आफूले अहिसलेसम्म पाएको पदक लिलामीमा राखेका छन् । राष्ट्र नै बेच्नेहरुको भीडमा विचरा महावीर पुनको देश बनाउने अभियानमा कस्ले बुझिदिने ? नयाँ नयाँ आविस्कार गरेर लाखौ युवाहरुलाई स्वावलम्बन बनाउने पुन र तस्करी, भ्रष्टाचार, बलात्कार, हत्या, सार्वजनिक सरकारी जग्गा किर्ते गर्नेहरुलाई रोज्नु पर्दा आजको झोलेहरु दोस्राकै पक्षमा उभिन्छन् । त्यसै सतिले सरापेको देश भन्या हैन नि । जुन देशमा हत्यारा, लुटेरा, जाँड खाएर मरेकाको शालिक बनाइन्छ । बीर सपुतका बालिक भत्काइन्छ । – पानी मरुवा
अन्तेमा
आफ्ना उनीलाई जोगाउन नेप्लिज थाँग्रेसका र्याले काजी यतिबेला दिलो ज्यानले लाग्या छन् । घरेलु मन्तरी परिवर्तन नगरुन्ज्याल बुढियालाई खोरमा जाने बाटो बन्द होला जस्तो नलागेसी’ काजीले आफ्नो दौडधूप बढाएका छन् । कहिले वाल्वाटारमा मिटिङ, कहिले तारे होटलमा मिटिङ, कहिले कहाँ त कहिले कहाँ । मिटिङको एउटै एजेण्डा हुन्छ घरेलु मन्तरी लारायन काजीलाई हँटाउने । लारायन पनि अलि ढिट नै रै’छन् । आफ्ना चाहिँ भएभरका सबै जोगाउने अनि र्याले काजीको खास्सै मान्छेलाई पनि नछोड्ने त अलि हजम हुँदैन । –लुइरे

तपाईको प्रतिक्रिया