धरान । नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक हिसाबले धरानमात्र होइन देश नै अस्तव्यस्त अवस्थामा देखिएको बताउनु भएको छ । नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ द्वारा सञ्चालित ग्रिन एण्ड क्लिन धरान अभियान समापनलाई सम्बोधन गर्दै बरिष्ठ नेता कोइरालाले आइतबार उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो हामी सबै जातीय र धार्मिक सद्भावमा जसरी बसिरहेका छौं त्यसलाई सुनियोजित ढंगले खल्बल्याउने प्रयास भएको छ । भाद्र ९ गते धरानमा जुन निषेधाज्ञा जारी भयो त्यो धार्मिक गतिविधिलाई निगरानी गर्न र एक आपसमा सद्भाव कायम राख्न भएको आफूले बुझेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो धार्मिक सद्भाव, जातीय सद्भाव, हामीले राख्न सकेनौ भने मुलुक अत्यन्तै अप्ठेरो परिस्थितिमा जान्छ । यो कुरा सबैले बुझेका छन् । राजनीति, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक जस्ता कुराहरु हाम्रो देशका अहिले भड्काउने, विथोल्ने काम भइरहेको छ ।

डा. कोइरालाले भन्नुभयो केही दिन अगाडि मात्र अमेरिकाले नेपाल सम्बन्धी एउटा प्रतिबेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अमेरिकी सरकारले सार्वजनिक गरेको हो । प्रतिवेदनमा नेपालमा प्रचुरमात्रामा अवसरहरु रहेको उल्लेख गरिएको छ । नेपालमा जलस्रोतको, जडिबुटीको, कृषि लगायतका थुप्रै अवसर रहेको उल्लेख गरेको छ । प्रतिवेदनमै उसले भनेको छ तर नेपालमा जहिल्यै सरकार अस्थिर रहेको छ, नेपालमा भ्रष्टाचार भयावह स्थितिमा रहेको, कर्मचारी तन्त्र बोझिलो बनेको, काुनन सरकार बदलिएपिच्छे बदलिइरहन्छ । जसका कारण दातृ निकायहरु नेपालमा लगानी गर्न हिच्किचाउने गरेका छन् । लगानी आउन गाह«ो छ । उहाँले प्रतिवेदनमा उल्लेख भएका दुई चार हरफ मात्र आफूले उल्लेख गरेको, प्रतिवेदन लामो रहेको बताउनुभयो । उहाँले धरानको काँग्रेसले पछिल्ला दिनमा जनताको घर घरमा पुग्ने जुन कार्य गरेको छ त्यो प्रशंसनीय रहेको बताउनुभयो । सुनसरी क्षेत्र नं १ काँग्रेसले सञ्चालन गरेको अभियान सह्रानीय छ । प्रशंसनीय छ । यस प्रकारको अभियान अन्य जिल्ला, क्षेत्र, नगर र गाउँहरुले पनि सञ्चालन गर्नुपर्छ । धरान आफै क्लिन छ ग्रिन केही घटेको छ । धरान पहिला ग्रिन नै थियो । ग्रिनलाई विस्तारै हामीले समाप्त पार्दै गयौं । त्यसैले ग्लोबल वार्मिङ्ग, जलवायु परिवर्तन, अतिवृष्टि, अनावृष्टि भइरहेको छ । आज डेंगीको जुन प्रकोप देखिएको छ यो पनि यसैको कारण हो । उहाँले बारम्बार आफ्नो सम्बोधनका क्रममा भन्नुभयो जनताको माझमा गएरजनताको मन जित्ने काम आगामी दिनमा पनि निरन्तर जारीरहोस् । एकातिर रुखका विरुवा वितरण गर्ने र अर्कोतर्फ डेंगीका विरामीहरुलाई औषधि वितरण गर्ने, उनीहरुलाई अस्पतालसम्म पु¥याउने कार्य आफैमा प्रशंसनीय छ ।
बरिष्ठ नेता डा. कोइरालाले नेपाली काँग्रेसको स्थापना बीपी लगायत अन्य नेताले गर्नुभयो । त्यसबेला काँग्रेस जनतासँग जोडिएको थियो । अहिले काँग्रेस जनताभन्दा धेरै टाढा भएको छ । काँग्रेस सदैव जनतासँगै जोडिने भएकोले विरुवा वितरण, डेंगीका विरामीलाई औषधोपचार लगायतका माध्यमबाट पुन ः जोडिदै गएको उहाँको कथन थियो । सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङ्गले धरानमा अभियान अन्तर्गत ४० हजार घरधुरी मध्ये २१ हजार ५ सय घरमा विरुवा वितरण गरिएको जानकारी दिनुभएको थियो । उहाँले अभियान निरन्तर सञ्चालन हुने समेत बताउनुभयो । अभियानमा निरन्तर सहभागी हुनु भएका नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई समापन समारोहमा प्रशंसापत्र प्रदान गरिएको थियो । नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सचिव महेन्द्र प्रधानले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नेपाली काँग्रेस सुनसरीका जिल्ला सभापति केदार भण्डारीले समेत सम्बोधन गर्नुभएको थियो ।
