चार बर्ष पश्चात ताप्लेजुङ जिल्लाको चीन–नेपाल सीमा नाका खुल्ने भएपछि स्थानीय हर्षित तिब्बतको सिगात्से प्रदेशको घेम्वा जिल्लामा अवस्थित रिउ बजार नेपालीको व्यापारिक केन्द्र

ओलाङचुङगोला (ताप्लेजुङ) । ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला, याङ्मा, धुन्सा लगायतका आसपासका स्थानीय बासिन्दाहरु यतिबेला भाद्र २४ गतेको प्रतिक्षा गरेर बसेका छन् । विगत चार बर्षदेखि बन्द भएको नेपाल–चीन सिमानाका टिप्तला भन्ज्याङ खुल्ने समाचार सु्नेपछि उनीहरुमा खुशीको सीमा छैन । वि.सं. २०७६ सालमा चीनको वुहान प्रान्तमा कोरोना संक्रमण देखिएपछि चीनले एकतर्फी रुपमा टिप्तला भन्ज्याङ सीमानाका बन्द गरिदिएको थियो । सीमा नाका बन्द भएपछि स्थानीयहरुको जनजीवन कष्टकर बन्दै आएको थियो । ओलाङचुङगोला लगायतका आसपासका बासिन्दाहरुले चार बर्ष अगाडिसम्म आफ्ना उत्पादनहरु चीन (तिब्बत) को सिगात्से प्रदेशस्थित घेम्बा जिल्लामा अवस्थित रिउ बजारमा विक्री गरी नुन, खाद्यान्न, लत्ता कपडा, औषधि लगायतका सामाग्री खरिद गर्दै आएका थिए । सीमा क्षेत्रका स्थानीयहरुले जडीबुटी, चौरीको घ्यु, गलैचा रिउ बजारमा विक्री गर्दै आएका थिए । फत्तालुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष छेतेन शेर्पा
(वलुङ) भन्नुहुन्छ विगत चार बर्षयता सीमा क्षेत्रका नेपालीहरुले आफ्नो उत्पादन विक्री गर्न नपाउँदा जनजीवन कष्टकर बन्दै आएको थियो । कतिपय स्थानीयहरु सीमावर्ती क्षेत्रबाट बसाई सरेर अन्यत्र जान बाध्य भए तर अब परिस्थिति सहज हुने देखिएको उहाँले बताउनुभयो ।


वडाध्यक्ष छेतेन शेर्पा (वलुङ) ले विगत एक दशक अगाडिदेखि नै ओलाङचुङगोला टिप्तला भन्ज्याङ सडक निर्माण लगायतका सामाजिक र विकास निर्माण कार्यमा आफूलाई सक्रिय गराउँदै आउनु भएको छ । पछिल्ला केही बर्षदेखि उहाँ टिप्तला भन्ज्याङ नाका खुलाउने कार्यमा सक्रिय रहँदै आउनु भएको छ । राजनैतिक पार्टीका केन्द्रीय नेता, जिल्ला स्थित प्रहरी, प्रशासन, स्थानीय निकायमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आउनु भएको थियो । स्थानीय डन्डु शेर्पाका अनुसार छेतेन सेर्पाको सपना जपना नै सडक र नाका हो । जे होस् अब आशा पलाएको छ । ओलाङचुङगोला लगायतका स्थानीयबासीको जीवन सहज हुनेछ उहाँले भन्नुभयो । यसैसम्बन्धमा वडाध्यक्ष एवम् समाजसेवी छेतेन शेर्पासँग सम्पर्क राख्दा उहाँले भन्नुभयो भाद्र २४ गतेदेखि टिप्तला नाका खोल्ने सहमति एक महिना अगाडि तिब्बतको ल्हासा स्थित नेपाली महावाणिज्य दुतावास र चिनियाँ पक्षबीच भएको हो । तर अहिलेसम्म औपचारिक पत्र आइसकेको छैन । तर चिनिया पक्षले प्रहरीलाई जानकारी दिएको सुनेको छु । टिप्तला नाका खुलेपछि सीमा क्षेत्र भन्दा ३० किमी भित्रका स्थानीयहरुले चीन प्रवेश गर्न पाउँछन् । ३० किमीको प्रावधान २०७६ साल भन्दा अगाडि पनि थियो शेर्पाले भन्नुभयो । चिनियाँ पक्षले तोकेको आवश्यक परिचयपत्र, नेपाली नागरिकता चीन प्रवेशका लागि अनिवार्य  गरिएको छ । केरुङ, तातोपानी जस्तै अन्यत्रका व्यापारीले पनि टिप्तला भन्ज्याङ नाका प्रयोग गरेर आयात निर्यात गर्न पाउँदैनन् त भन्ने जिज्ञासामा सेर्पाले भन्नुभयो त्यो सम्भावना अहिले देखिदैन । तमोर करिडोर सडकको ट्रयाक खुलेर हाइवेको रुपमा सडक सञ्चालन भएमा त्यस्तो सम्भावना रहन सक्छ ।
अहिले नेपाल–चीन सीमा नाकामा के कस्ता तयारी भइरहेको छ भन्ने जिज्ञासामा शेर्पाले भन्नुभयो, चिनियाँहरुले नेपालीलाई लक्षित गरेर डाँडामा कस्टम अफिस बनाएको छ । नेपालतर्फको भन्सारको अवस्था हाल शून्य जस्तो छ । नाका खुलेपछि सरकारले मान्छे पठाउँला । यो नाका ठूलो मात्रामा इकोनोमिकल रुपमा चहल पहल हुने नाका होइन । चीनको रिउ बजार जाँदा चीनतर्फ गाडी पाए पनि नेपालका तर्फबाट उत्पादन बोकेर नाकासम्म पुग्नै पर्ने अवस्था छ । याक, चौरीहरु पनि त रिउ बजारमा विक्रीका लागि स्थानीयले लान्छन् होला नि त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो अहिले त्यो
सम्भव छैन । यसका लागि पशु रोगी छ छैन भन्ने जाँच्न क्वारेन्टाइन कार्यालय चाहिन्छ त्यो सीमा नाकामा छैन ।

तपाईको प्रतिक्रिया