लिम्बु्वान किराँत नमान्ने उद्घोष

झापा (गौरादह) । प्रदेश नं. १ का सांसदले दुई तिहाई भन्दा बढी मतले कोशी प्रदेश नामांकरण गरेपछि पहिचानवादीहरुले लिम्बुवान–किराँत नामाकरणको माग गर्दै आन्दोलित भएको अवस्थामा झापा, मोरङ, सुनसरीका कोचहरुले लिम्बुवान–किराँत नमान्ने उद्घोष गरेका छन् । झापा, मोरङ, सुनसरीलाई पहिचानको आधारमा कोचिला प्रदेश नामांकन गर्नुपर्ने भन्दै स्थानीय स्तरमा संघर्ष समितिहरु धमाधम गठन हुन थालेका छन् ।


झापा जिल्लाको गौरीगञ्जमा शुक्रबार कोचिला संघर्ष समितिले वृहत अन्तरक्रिया समेत सम्पन्न गरेको  छ । कोचिला संघर्ष समिति झापाका अध्यक्ष त्रिनारायण राजवंशीको प्रमुख आतिथ्यमा तीनै जिल्लाका विभिन्न जातीय संगठनहरुको उपस्थितिमा भएको वृहत अन्तरक्रियामा सुनसरी, मोरङ, झापालाई ऐतिहासिक दस्तावेजको आधारमा प्रदेश नं. १ अर्थात कोशी प्रदेशलाई कोचिला
राज्य घोषणा गर्नुपर्ने, लिम्बुवान  किराँत पुन ः नामांकन गरिए त्यसलाई नमान्ने उद्घोष गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष राजवंशीले भने यदि पहिचान सहितको प्रदेशको नामांकन गर्ने भए कोच राज्य  राख्नुपर्छ । कोचिला राज्यका लागि आफूहरुसँग सबै प्रकारका ऐतिहासिक दस्तावेजहरु रहेका छन् । उनले भने झापा, मोरङ र सुनसरी जिल्ला कोचहरुको थाँतथलो र भूमि हो । कसैले यसको ऐतिहासिकता नमेट्न उनले चेतावनी समेत दिए ।  अन्तरक्रियामा कोच अभियन्ता विद्यानन्द राजवशी, राजवंशी समाज विकास समितिका अध्यक्ष गोपाल प्रसाद राजवंशी, ताजपुरिया कल्याण समाजका अध्यक्ष कामदेव ताजपुरिया, समाजसेवी श्याम राजवंशी, देवीप्रसाद राजवंशी, दिनेशचन्द्र  राजवंशी, दिनेश्वर राजवंशी, पल्टन ताजपुरिया, राजेन्द्रप्रसाद ताजपुरिया, विजय ताजपुरिया, सत्यनारायण
ताजपुरिया (टाइगर) लगायतले आदिमकालदेखि बसोबास गर्दै आइरहेको कोचहरुको इतिहास नमेट्न चेतावनी दिएका थिए ।

तपाईको प्रतिक्रिया