पुराना राजनीतिक दलका नेता फोहोरको थुप्रो

यतिबेला मुलुकको राजनीति अत्यन्तै पेचिलो देखिएको छ । एकले अर्कोलाई कसरी खुइल्याउने भन्नेमै केन्द्रित छ । बग्रेल्ती समस्याका चाङ छोडेर अप्राकृतिक गठबन्धन गरेर सत्तासीनहरु व्यापार गरिरहेका छन् । कहिले आफ्नो नागरिकलाई अनागरिक बनाउने (भुटानी शरणार्थी प्रकरण), बिना लगानीको करोडौ आर्जन गर्ने व्यापार, कहिले बालुवाटारस्थित ललिता निवास जग्गा किर्ते र किनबेच प्रकरण, कहिले विदेशी दलालहरुसँग मिलेर अरबौको सुन प्रकरण त कहिले अन्य ।
यी त संयोगबस देखिन पुगेका व्यापार हुन् । नदेखिने अदृश्य व्यापारको त कसैले कल्पना नै गर्न सक्दैन । ठूला–ठूला धन्दालाई ढाकछोप गर्न यस्ता झिनामसिना काण्डलाई सतहमा देखाएर प्रोपोगण्डा गरिदै आएको छ । एक बर्ष अगाडि खुलेको एउटा राजनीतिक पार्टीका नेताले हालै पूर्वाञ्चलको आफ्नो दौडाहामा भनेछन् पुराना दलका नेताहरु फोहोरको थुप्रो सावित भइसकेका छन् । हुन ती नव नेता पनि विस्तारै फोहोरकै थुप्रोमा चाँडै परिणत हुने पक्का छ । नयाँ जोगीले बढी खरानी घसेर आफूलाई विशिष्ट देखाउने प्रपञ्च गर्छ नै । उनले समेत यतिबेला आवश्यकता भन्दा बढी खरानी घसेर हिडेका छन् । दिन कस्तो हुन्छ भन्ने कुरा विहानीबाट अनुमान गर्न सकिन्छ । ती नव नेताको विगतले आगामी दिनको मार्ग चित्र प्रस्तुत गर्छ । अरुलाई आक्षेप लगाउनु भन्दा अगाडि एक पटक आफैले आफूलाई नियालेका थिए भने उपयुक्त हुने थियो । ती आक्षेपकर्तालाई आम मतदाताले के आधारमा विश्वास गर्ने ? न तिनको दलको कुनै विचार छ, न आदर्श छ । कोरा नारा दिएर अन्य राजनैतिक दललाई गाली गर्ने, दलका नेताहरुको हुर्मत लिने मात्रले त्यो  राजनीतिक दल आगामी दिनमा स्थापित हुन सक्दैन । पुराना राजनैतिक दल जनताका नजरबाट स्वलित हुँदै गएका छन् यो सत्य हो । यसो हुनुमा ती राजनैतिक दलका सञ्चालकको राजनैतिक व्यवसायिक मनस्थिति प्रमुख कारण हो । अर्थात मृत्यु नहुन्ज्याल जसरी भए पनि नेतृत्वमा स्थापित भइरहनु, मुलुकको सर्वोच्च कानुनलाई आफू अनुकूल परिचालन गर्नु, परिवारका सदस्यहरुलाई आय आर्जनको धन्दामा संरक्षक बन्नु, नियुक्ति, सरुवा, बढुवामा आर्थिक लेनदेन गर्नु । जसका कारण मुलुकमा लोकतन्त्र स्थापना भएको ३५ बर्ष सम्म पनि नागरिकको जीवनस्तर झन झन खस्कँदै गएको छ । मुलुकको दीगो अर्थतन्त्र ध्वस्त भएको छ, वैदेशिक ऋणको भार उच्च विन्दुमा पुगेको छ, मुलुकको सार्वभौम सत्ता धितो राखेर अन्य राष्ट्रबाट बेपर्वाह ऋण लिएको छ । अनि पुराना राजनैतिक दलका नेताहरु फोहोरको थुप्रो नभएर के हुन त ? मुलुकको बागडोर आफ्नो हातबाट अन्यको आतमा नजाओस् भन्ने एक सुत्रीय भिजनमा पुराना राजनैतिक दलहरु चलेका छन् । अन्यत्र पहिला राष्ट्र समृद्धि, त्यसपछि समाजको समृति अनि आफ्नो समृद्धिका लागि सोच बनाइन्छ तर यहाँ ठीक उल्टो छ, पहिला आफू र आफ्ना नातागोताको समृद्धिमा अल्झँदा न समाज समृद्धि भयो न राष्ट्र समृद्धि हुन सक्यो । त्यसैले पुरानामात्र नभएर नयाँ खरानी धसेर आएका पनि फोहोरै थुप्रोमा परिणत हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया