धरान । भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा गत हप्ता भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको काठमाण्डौ चन्द्रगिरीस्थित विष्णुदेवी माध्यामिक विद्यालय भवनको उद्घाटन गरिएको छ । विद्यालय भवनको नेपालस्थित भारतीय राजदुतावासका प्रथम सचिव करुण वंशल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुवेदी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक डिल्लीराम लुइँटेलले एक विशेष समारोहबीच संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

भारतीय राजदुतावासद्वारा जारी गरिएको विज्ञप्तीका अनुसार उद्घाटनमा चन्द्रगिरी नगरपालिका, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभाग र केन्द्रीय भवन अनुसन्धान संस्थान रुड्कीका प्रतिनिधि लगायतको समुपस्थिति रहेको थियो । नेपाल सरकारको भुकम्प उत्थानशील पुनः निर्माण मापदण्ड अनुरुप नेरु ६ करोड ९ लाखको लागतमा उक्त विद्यालय भवन निर्माण सम्पन्न भएको हो । विज्ञप्तीमा भनिएको छ नव निर्मित विद्यालय भवनमा दुई वटा ब्लक रहेका छन् । जसमा १२ वटा कक्षा कोठा, प्रशासनिक कक्ष, पुस्तकालय, वहुउद्देश्यीय हल, प्रयोगशाला छन् । बालमैत्री, लैङ्गिकमैत्री, अपांगमैत्री भुकम्प प्रतिरोधी संरचना रहेको उक्त नव निर्मित विद्यालय भवनबाट ५ सय विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने विज्ञप्तीमा जनाइएको छ । नव निर्मित विद्यालय भवन भुकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी डलर अन्तर्गत नेपालका ८ जिल्लामा निर्माण भइरहेको ७१ वटा शैक्षिक संस्थाहरुमध्येकै एक हो । ती ७१ वटा शैक्षिक संस्थाहरुमध्ये ६५ वटा विद्यालय भवनको निर्माण सम्पन्न भइसकेका छन् । निर्माण सम्पन्न भएको उक्त परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्वित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई थप बल पु¥याउने दुतावासद्वारा जारी विज्ञप्तीमा विश्वास व्यक्त गरिएको छ ।
