धरान । दर्जनौ सामाजिक संघ संस्थामार्फत आर्थिक, भौतिक र मानसिक रुपमा सहयोग पु¥याउँदै आउनु भएका नेत्रहादुर याख्खाको नश्वर शरीर अब धरानेमाझ रहेन । संखुवासभा जिल्लाको लिङलिङ्गमा जन्मनु भएका याख्खाले धरानलाई कर्मथलो बनाई विगत ४० बर्षदेखि सामाजिक गतिविधिमा आफूलाई समर्पित गर्दै आउनु भएको थियो । समाजसेवी स्व. विष्णुमाया राईका पति याख्खा सस्तो प्रचार र चर्चामा आउन कहिल्यै चाहनु भएन । उहाँ किरात याख्खा छुम्माको केन्द्रीय सल्लाहकार, धरान १६ स्थित नवनिर्मित किरात याख्खा भवनको जग्गा दातासँगै भवन निर्माण समितिको संयोजक, वृटिश गोरखा भूतपूर्व सैनिक संघका सदस्य रहनु भएको थियो । धरान उपमहानगरपालिका वडा नं. १३ मा निर्माण भएको खुकुरी पार्कलाई उहाँले निःशुल्क जग्गा प्रदान समेत गर्नुभएको थियो ।

वृटिश गोरखा सैनिकको सिपाहीबाट सेवा निवृत्त भएपछि धरानमा राई दम्पत्तिले दर्जनौ सामाजिक कार्यमा सहयोग पु¥याउनु भएको थियो । विगत केही समयदेखि अस्वस्थ रहनु भएका याख्खाको साउन १८ गते ७६ बर्षको उमेरमा निधन भएको थियो । उहाँको देहमुक्त शरीर चतराघाटमा अन्तिम विसर्जन गरिएको थियो । स्व. याख्खाका तीन सुपुत्र नारायण याख्खा, उमेश याख्खा र रमेश याख््रखा रहनु भएको छ ।
