कम्युनिष्ट आन्दोलन नेपालका लागि अभिषाप हो, जसले सामाजिक तह विध्वंस गरेको छ अब पुराना राजनैतिक दलप्रतिको मोह भंग हुँदै, बैकल्पिक राजनीतिप्रति लगाव बढ्दै गएको छ

धरान । यहाँ आयोजित एक कार्यक्रममा वैकल्पिक राजनीतिको दौडमा रहेका राजनीतिक विश्लेषकहरुले वर्तमान अवस्थामा सत्ताको सिण्डिकेट चलाएका राजनैतिक दलका नेताहरु भ्रष्टाचारी भएको, भ्रष्टाचार गर्नकै लागि  राज्यसत्ताको दोहन गरेको र राज्य नागरिक लुट्ने तहमा गएको आरोप लगाएका छन् । उनीहरुले परम्परागत र पुराना राजनैतिक पार्टीहरु जनताका नजरबाट स्खलित भइसकेको, गालीको बर्षा भइरहेको, कम्युनिस्ट आन्दोलन नेपालका लागि अभिषाप भएको, उनीहरुले सामाजिक तहमा गरेको विध्वंस पुन ः रिकोभर हुने तहमा नरहेको, परम्परागत राजनैतिक दलका नेतृत्व इमान्दार नरहेको, अधिनायकवादी रहेको समेत बताएका छन् । वर्तमान परिवेशमा वैकल्पिक राजनीतिमाथि एक बहस कार्यक्रममा बोल्दै उनीहरुले त्यस्तो बताएका हुन् । बीपी चिन्तन प्रतिष्ठान धरान सुनसरीको व्यानरमा शुक्रबार गीता भवनको किल्लानिया हलमा आयोजित विचार गोष्ठीमा पूर्व माओवादी नेता मुमाराम खनालले भन्नुभयो अब नेपालमा वैकल्पिक
राजनीतिको विकल्प छैन । उहाँले भन्नुभयो नेपालका लागि कम्युनिष्ट आन्दोलन अभिषाप थियो । हरेक नागरिकले परम्परागत पुराना राजनैतिक दललाई गालीको बर्षा गरिरहेका छन् । यसले प्रष्ट पार्छ आम नगारिक परम्परागत, पुराना राजनैतिक दलको, नेतृत्वको विकल्पमा छन् । विगत ३५ बर्षदेखि एउटै व्यक्ति नेतृत्व तहमा जानका लागि पार्टी सत्ताको लोकतान्त्रिक प्रक्रिया पूरा हुनुपर्छ । जबसम्म पार्टी लोकतान्त्रिककरण हुँदैन तबसम्म देशमा विकास र समृद्धि सम्भव छैन ।


उहाँले भन्नुभयो आम नगारिकले मुलुकमा विकास चाहेका छन् तर त्यो विकास ठूला–ठूला सडक बन्नुमात्र होइन । विकास जनताको पक्षमा हुनुपर्छ, पर्यावरणको पक्षमा हुनुपर्छ, हजारौ बर्षदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिको सवालमा हुनुपर्छ, उनीहरुले सरक्षण गरेको भूमि, जंगल, जलको सवालमा हुनुपर्छ । तर परम्परागत राजनैतिक पार्टीका नेताहरु भ्रष्टाचार गर्नकै लागि राज्य सत्ताको प्रयोग गरिरहेका छन् । उहाँले भन्नुभयो अहिले बिना इन्जिनियरिङ्ग जताततै बाटो बनाउने होड चलेको छ । स्थानीय नेताले घुस खान बाटो बनाउने ? भ्युटावर बनाउने ? यो नबनाउँदा घुस खान पाइँदैन, राज्यकोषबाट पैसा निकाल्न पाइँदैन । त्यसैले नेपाल यतिबेला सिकारी राज्य भएको छ, राज्य नागरिक लुट्ने तहमा मात्र सीमित भएको छ । नेता खनालले भन्नुभयो माओवादी सत्तामा गएपछि तिनका नेता कार्यकर्ता ठूलो संख्यामा चीन भ्रमणमा गए । चीनको नीति नै थियो ४० हजार नेपाली युवाहरुलाई चीन घुमाउने । उनीहरुले चीनमा त्यत्रो विकास भएको देखे, जहाँ कम्युनिस्ट शासन थियो । गल्फ कन्ट्री गए त्यहाँ कट्टरवादी राजा छन् त्यहाँ पनि अदभुद् विकास भएको देखे,  भारतमा त झन कल्पनै नगरौ । हाम्रामाचाहिँ काँग्रेसले गर्दा पनि, कम्युनिस्टले गर्दा पनि विकास नहुने, बिग्रेको कम्युनिस्टले गर्दा पनि नहुने, सच्चा कम्युनिस्टले गर्दा पनि नहुने, मधेशवादीले गर्दा पनि नहुने, पहाडवादीले गर्दा पनि नहुने भएपछि ७० को दशकपछि विस्तारै बैकल्पिक
राजनीतिप्रति आम नागरिकको लगाब बढ्दै गएको उहाँको कथन थियो । उहाँले भन्नुभयो यो देशका चार–पाँच जना नेताहरु कहिल्यै सत्ताभन्दा बाहिर बसेका छैनन्, उनीहरु राज्यसत्ताको पद विनिमय गर्छन् । देशको प्रमुख समस्या यही हो । त्यसैले व्यक्तिवादी र अधिनायकवादी नेताहरुको मुलुकलाई आवश्यक छैन अब दीगो विकासका लागि वैकल्पिक राजनीति आवश्यक भइसकेको छ ।
अर्का राजनैतिक विश्लेषक प्रशान्त सिंहले अब व्यवस्थामा परिमार्जन गर्ने अवस्था आइसकेको धारणा राख्नु भएको थियो । राजनीतिले अब कोल्टे फेर्नुपर्छ । मुलुक हार्डवयेर हो यसलाई सही ढंगले चलाउने अप्रेटर आवश्यकता छ । यसैगरी अर्का राजनैतिक विश्लेषक केशव दाहालले परम्परागत राजनीति असफल भइसकेको र यसको विकल्प आवश्यक रहेको बताउनुभयो । अर्का राजनैतिक विश्लेषक डम्बर खतिवडाले मुलुक चरम अन्योलतर्फ उन्मुख भएको छ । अब पनि वैकल्पिक राजनीतिको खोजी नगर्ने हो भने देश दुर्घटनातर्फ जाने प्रष्ट पार्नुभयो । बीपी चिन्तन प्रतिष्ठान सुनसरी धरानका अध्यक्ष डा. आनन्दप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं. १ सुनसरीका सभापति सुजेन्द्र तामाङ, नेपाली काँग्रेसकी महिला नेतृ नेत्रकुमारी राई, डा. जीवनकुमार राई, अशोक श्रेष्ठले समेत नेपालको अन्यौलपूर्ण वर्तमान राजनीतिप्रति तिखो व्यंग्य गरेका थिए भने सञ्चालन प्रेम भट्टराईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया