बिराटनगर । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ साढे ७ बजे झापाको झापा गाउँपालिका–४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका साईकलयात्री इलाम मङसेबुङ गाउँपालिका– ९ का ३० बर्षीय युवराज लिम्बुलाई संका लागि चेकजाँच गर्दा साईकलको ह्यान्डल भित्र लुकाई राखेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यसैगरि बिराटनगर महानरपालिका–१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश १–०२–०५२प ७५९६ नम्बरको मोटरसाईकल चालक बेलबारी– ४ का ३३ बर्षीय सनम गुरुङको साथबाट ९ सय १० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।
