हिन्दु जागरण अभियान अन्तर्गत राप्रपा अध्यक्ष लिंगदेनद्वारा पिण्डेश्वर मन्दिरमा पूजाअर्चना हजारौको संख्यामा युवा, बौद्धिक व्यक्तित्व, धार्मिक अभियन्ता अभियानमा सहभागी

धरान । जय जय गोरख जय जय काली हिन्दु राष्ट्र यसैपालि, जाग हिन्दु जाग हिन्दु राष्ट्र माग, नेपालीको पहिचान हिन्दु राष्ट्र हाम्रो शान जस्ता नाराका साथ हिन्दु जागरण अभियान अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले सोमबार धरानको पिण्डेश्वर मन्दिरमा जल अर्पण गर्दै पूजा अर्जना गरेका छन् । धरानको अमान बजारस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयबाट शुरु भएको पैदल अभियान छाताचौक, चिनियाँ चौक, तुर्के हुँदै पिण्डेश्वर मन्दिर पुगेको थियो । अभियानमा हजारौको संख्यामा स्वस्फूर्त रुपमा फरक राजनैतिक आस्था भएका युवाहरु, बौद्धिक व्यक्तिहरु, धार्मिक अभियन्ताहरु अभियानमा सहभागी थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समितिको संयोजनमा भएको धार्मिक यात्रा नविन राप्रपा नविन अभियान अन्तर्गत रहेको राप्रपाका स्थानीय नेता तथा उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । अध्यक्ष लिँगदेनको पूजाको सम्पूर्ण तयारीको जिम्मा पार्टीले वडाध्यक्ष भट्टराईलाई दिएको थियो । पिण्डेश्वर मन्दिरमा जल अर्पण र पूजा अर्चना पश्चात अध्यक्ष लिंग्देनले संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीले धार्मिक जागरण अभियान आफ्नो स्थापना कालदेखि नै शुरु गरेको हो । अहिले नविन राप्रपा नविन कार्यक्रमका साथ थप सक्रिय भएको छ । गत हप्ता श्रावणको पहिलो सोमबार काठमाण्डौको पशुपतिनाथ मन्दिरबाट आरम्भ भएको श्रावण महिनाको धार्मिक यात्रा निरन्तर रहने लिंगदेनले प्रष्ट पार्नुभयो ।
पूर्व उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री समेत रहनु भएका लिंगदेनले धरानमा पछिल्लो पटक देखिएको चर्च र मन्दिर विवादको सम्बन्धमा भन्नुभयो २०६२÷०६३ को आन्दोलन पश्चात जनचाहना विपरीत, मुलुकको अस्तित्व नै संकटमा पार्ने गरी विदेशी डिजाइनमा धर्म निरपेक्षता जुन घोषणा गरियो त्यसैको दुष्परिणाम हो । धर्म निरपेक्षता कायम छउन्ज्याल यस्ता दुस्परिणामहरु बढ्दै जान्छन् । उहाँले भन्नुभयो म पिण्डेश्वर मन्दिरको दर्शन गर्न आएको हुँ, धर्म निरपेक्षतालाई पालेर राखेसम्म फरक धर्मालम्बीहरुका बीचमा विवादहरु आइरहन्छन् । उहाँले भन्नुभयो म एउटा किराँतीको छोरा हुँ तर यो देशमा हिन्दु धर्मको विकल्प छैन भनेर म अभियानमा लागेको छु । म धरानमा चर्च र मन्दिरको बीचको विवादको कुुरा गर्न आएको होइन । यस्ता विवादको समाधान भनेकै धर्म निरपेक्षता खारेज गरी हिन्दु राष्ट्र कायम गर्नु हो । म सम धर्म सद्भावको मान्यता राख्छु तर नेपालको पहिचान हिन्दु राष्ट्रसँग जोडिएको छ ।


अध्यक्ष लिंगदेनले भन्नुभयो धर्म निरपेक्षताले मुलुकको हित गर्देैन । हामीले यो कुरा सविधानसभामा  बारम्बार उठाएका थियौ । आज आएर त्यो कुरा प्रमाणित भएको छ । आज धर्मनिरपेक्षताको दुस्परिणाम सर्वत्र देखिन थालेको छ । धर्म निरपेक्षताको आडमा हाम्रा धार्मिक सद्भाव विथोल्ने काम भइरहेको छ । धर्म निरपेक्षतालाई जबसम्म खारेज गरिदैन तवसम्म हामीबीचमा सद्भाव विथोल्ने काम भइरहन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुद्ध, किराँत, हिन्दु धर्मको संरक्षण गरेर जीवनयापनको बाटो बनाउन सक्छ भन्ने मान्यता  राख्दै आएको छ । नेपाल त्यसै पनि तीन वटा धर्म बुद्ध, किराँत, हिन्दु धर्मको उद्गम स्थल हो । यहाँ धार्मिक पर्यटनको अथाह सम्भावना रहेको भन्दै लिंगदेनले उत्तरी छिमेकी देश बुद्ध धर्म र दक्षिण छिमेकी देश हिन्दु धर्मालम्बीहरुको वाहुल्य भएका छन् । यी दुवै देश जनसंख्या र आकारमा ठूला छन् । उत्तरबाट बौद्धिष्ट र दक्षिणबाट हिन्दु धर्मालम्बीहरुलाई लाखौको संख्यामा बार्षिक रुपमा नेपाल भिœयाउन सकिन्छ । जसका कारण आम नागरिकको जीवनयापनमा सहजता आउँछ । धरानस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष लिंगदेनले हिन्दु धर्म जागरण अभियानलाई सशक्त ढंगले अगाडि बढाउन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको थियो । यसैगरी गीता भवनमा विश्व हिन्दु महासंघद्वारा आयोजित कार्यक्रममा अध्यक्ष लिंगदेनले भन्नुभयो बैद्धिक सनातन धर्म सँस्कृति र आध्यात्मिक राजनीति वर्तमान अवस्थाको आवश्यकता
रहेको बताउनुभयो । उहाँले हिन्दु धर्म, हिन्दु राष्ट्र कुनै न कुनै दिन स्थापित हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया