धरान । कथित सात दलीय संयन्त्रले स्थानीय निकाय सञ्चालन गरेको अवस्थामा अर्थात् २०६२ । ०६३ को जन आन्दोलन पश्चात धरान उपमहानगरपालिकाको कार्यकारी अधिकृत रहेका र हाल ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बित भएका छन् । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको कार्यकारी अधिकृत रहँदा खतिवडाले विद्युत आयोजनामा फर्जी बिल बनाएर करोडौ अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साउन ७ गते विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् ।

धरान नगरपालिकाको कार्यकारी अधिकृत छँदा खतिवडाले खानेपानी आयोजनाको नाममा एसियाली विकास बैंक, नेपाल सरकारबाट प्राप्त अनुदानमा समेत करोडौ रकम दलीय संयन्त्रसँगको मिलेमतोमा अपचलन गरेका थिए । आम धरानबासीले एडिवीको ऋण अस्वीकार गर्दै आन्दोलन गर्दा खतिवडाले प्रहरी प्रशासन लगाएर आन्दोलन पक्षधरलाई धाकधम्की दिने र दबाउने सम्मका कार्य गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोले आरोपपत्र दायर गरेपछि उनलाई आइतबारै गृहमन्त्रालयले निलम्बन गरेको हो ।
