फक्तालुङ (ताप्लेजुङ) । सामरिक दृष्टिले महत्वपूर्ण मानिएको वहुचर्चित तमोर करिडोर अन्तर्गतको ओलाङचुङगोला टिप्तला भन्ज्याङ सडकको ट्रयाक खुल्न अब तीन सय मिटर बाँकी रहेको छ ।
भारत र चीन जोड्ने सबैभन्दा कम दूरीको तमोर करिडोर अन्तर्गतको सुकेपानीमा तीन सय मिटर ट्रयाक खुल्नासाथ सवारी साधनहरु नेपाल चीन सीमा नाका टिप्तला भन्ज्याङ सहज रुपमा पुग्ने फक्तालुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हाल विस्फोटक पदार्थ उपलब्ध हुन नसक्दा ब्लाष्टिङको काम रोखिएको छ । भारतबाट विस्फोटक पदार्थ आउन बन्द भएको र चीनबाट ल्याउँदा महँगो पर्ने भएकोले काम अगाडि बढ्न सकेको छैन । अब तीन वटा ब्लाष्टिङबाट सडकको ट्रयाक पूर्णरुपले खुल्छ ।

यहाँ स्मरणीय कुरा के छ भने टिप्तला भन्ज्याङदेखि ओलाङचुङगोला हुँदै जंगिनसम्मको सडकको ट्रयाक चिनियाँ पक्षले कोरोनाको समय भन्दा अगाडि नै खोलिदिएको थियो । हाल उक्त सडकको स्तरोन्नति र दुई वटा बेलीबृज निर्माणका लागि चीनले एक अर्ब रुपैयाँ दिने भएको छ । अप्रिल १५, २०२३ मा भएको चीनको काउन्टी सरकार र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय नेता, स्थानीय निकायका जनप्रतिनिधि बीचमा भर्चुअल वार्तामा चिनियाँ पक्षले उक्त सहयोगप्रति प्रतिबद्धता जनाएको थियो । सो अवसरमा काउन्टी सरकारका तर्फबाट (डिङ्गजे काउन्टी) प्रमुख ताओ मिगजुन,उपप्रमुख डिङ्ग विमिन, जनसरकार प्रमुख सेचुङ्ग, सिगात्ने सिटीका अर्थ विभाग अनुसन्धान प्रमुख वाङसिया ओमाङ्ग भर्चुअल बैठकमा सहभागी भएका थिए । अध्यक्ष लिम्बुका अनुसार चीन सरकाले सडक मर्मत र दुई वटा वेलीबृज निर्माणका लागि उक्त रकम दिन लागेको हो । बेलीबृज याङ्गमा खोला, तमोर खोलामा निर्माण हुनेछ । सोही रकमबाट सुकेपानीमा समेत बेलिबृज निर्माणको प्रयासमा छौ ।
