बीपी स्मृति दिवस कर्म काण्डीय कार्यक्रम

नेपाली राजनीतिमा युग पुरुष, प्रजातान्त्रिक समाजवादका व्याख्खाता, नेपाली काँग्रेसका संस्थापक, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शनिवार ४१ औं स्मृति दिवस काँग्रेसजनहरुले लाज छोप्न कर्मकाण्डीय कार्यक्रम गरी मनाए । बीपीलाई बुझ्दै नबुझ्ने, बीपीका आदर्शलाई जान्दै नजान्ने, जान्न पनि नचाहने, न अध्ययन छ न सरकारात्मक सोच छ त्यस्ता व्यीक्तहरु काँग्रेसको राजनीतिमा हावी भएपछि स्मृति दिवस कर्मकाण्डीय बाहेक अरु हुने कुरा पनि भएन । आज बीपीलाई बुझ्ने भन्दा पनि लाल बुझक्कडहरु नेपाली काँग्रेसमा हावी हुँदै गएका छन् । लाल बुझक्कडहरुको एउटै ध्येय रहन्छ कसरी पद हत्याउने, पदीय आडमा कसरी आर्जन गर्ने । यस भन्दा बाहेक उनीहरुमा कुनै सोच देखिदैन । हिजो बीपीको आदर्शबाट प्रभावित भएर सर्वस्व गुमाउनेहरु, विसौ बर्ष जेल र प्रवासमा बस्नेहरु थिए । अर्थात् बीपीको आदर्शका लागि त्याग गर्नेहरु थिए । ती मध्ये आज कैयौ ब्रम्हलीन भइसकेका छन्, कैयौ गुमनाम जीवन बाँचिरहेका छन्, कैयौ तिरस्कृत भएका छन् । बीपीको स्मृति दिवस अब एउटा कर्मकाण्डीय कार्यक्रममा परिणत भएको छ । बर्षको ३६५ दिन बीपी नसम्झेहरुले एक दिन अन्तरमन देखि सम्झिनुको कुनै तात्विक अर्थ पनि रहँदैन । बीपीका अनुयायीहरुले फरक फरक बाटोबाट स्मरण गर्छन् र गर्नुपर्छ । स्मृति दिवसमा समेत लक्षित समूहसँग कार्यक्रमको नाममा चन्दा उठाउनु, रमाइला गर्नु, जाँड पार्टीको आयोजना गर्नु असभ्य र अराजक संस्कारको घोतक हो । लाखौ इमान्दार कार्यकर्ताहरुको पसिना, रगतले संचित सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी नेपाली काँग्रेस दिन प्रतिदिन स्वखलित हुँदै जानुमा अवसरको खोजीमा काँग्रेसलाई ढाल बनाएर हावी भएका स्वार्थ समूहहरु नै हुन् । बीपी स्मृति दिवसका अवसरमा काँग्रेसमा हावी भएका स्वार्थ समूहले बीपीका सम्बन्धमा के गरे ? ग्रामीण क्षेत्रमा, जनसंख्यायिक घनत्व रहेको ठाउँमा अन्तरक्रिया गर्नु पर्दैन ? बीपीका नाममा असहाय अशक्तहरुलाई यथाशक्य सहयोग गर्नुपर्दैन ? विरामी अशक्तहरुको औषधोपचारको व्यवस्था गर्नुपर्दैन ? देखावटी रुपमा रोपिएका विरुवाको संरक्षणको दायित्व कस्ले गर्ने ? विरुवा रोपेपछि सामाजिक सञ्जालमा फोटो सुट गरेपछि दायित्व सिद्धियो ? कार्यक्रममा बोलाइएका प्रमुख अथितिसँग फोटो खिचेर सामाजिक सञ्जालमा फोस्ट्याउनुमात्र बीपी स्मृति दिवसको सार्थकता हो ? वडा सदस्य जित्ने हैसियत नभएकाहरु क्षेत्र, नगर प्रदेशस्तरीय पदमा आसिन छन् । उनीहरु लोकप्रिय भएर ती पदमा पुगेका होइनन् । जनमत शून्य भएका व्यक्तिहरु पार्टीको महत्वपूर्ण पदमा पुग्नुले आज काँग्रेस अरुको वैसाखी टेकेर हिड्नुपर्ने अवस्था सिर्जना भएको हो । अब साँच्चै नै काँग्रेसलाई पुरानो शाखमा फर्काउने हो भने काँग्रेसको पद ओगटेर बस्नेहरुले बीपीका आदर्श सर्वसाधारणलाई बुझाउन सक्नुपर्छ । पदीय आडमा चन्दा उठाउने, घर व्यवहार चलाउने, आफ्नो पहुँच केन्द्रसम्म छ भनेर देखाउन सामाजिक सञ्जालमा कथित फोटो पोष्ट गर्ने लगायतका कार्य बन्द गर्नुपर्छ । नत्र अब काँग्रेसको इतिहासमा समाहित हुन सक्छ ?

तपाईको प्रतिक्रिया