बीपी कोइरालाको ४१ औ स्मृति दिवसमा बबियामा पूर्ण कदको प्रतिमा अनावरण

इनरुवा । नेपाली काँग्रेसका संस्थापक नेता, युग पुरुष बीपी कोइरालाको पूर्ण कदको प्रतिमा सुनसरीको बबियामा शनिवार अनावरण भएको छ । नेपाली काँग्रेस सुनसरी जिल्ला सम्मेलनको अवसरमा पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिमाको अनावरण गर्नुभएको हो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय नेताहरु एवम् पूर्व मन्त्री विजयकुमार गच्छदार, केन्द्रीय सदस्य राजीव ढुंगाना, अमृत अर्याल लगायतका दर्जन भन्दा बढी नेताहरुको उपस्थिति रहेको थियो ।


सुनसरी जिल्लाको इनरुवा नगरपालिकाको वडा नं. ९ स्थित बबियामा निर्माण सम्पन्न भएको प्रतिमा अनावरण नहुँदै सार्वजनिक भइसकेको थियो । अनावरण नहुँदै प्रतिमा सार्वजनिक हुँदा स्थानीयहरु आश्चर्यमा परेका थिए । शनिवार अनावरण हुनुभन्दा अगाडि छोपिएको प्रतिमाको कपडा तीन दिन अगाडि नै हँटाइएको थियो । इनरुवा नगरपालिकाले उपभोक्ता समितिमार्फत चार बर्ष अगाडि नै उक्त पूर्ण कदको प्रतिमा निर्माण गरेको थियो । इनरुवा नगरपालिकाका मेयर समेत रहेका नेपाली काँग्रेसमा सभापति केदार  भण्डारीले कपडा कसैले हँटाएको नभएर पुरानो भई मक्किएका कारण हावाले उडाएको हुनसक्ने बताउनुभयो । जे होस् बीपीको पूर्ण कदको प्रतिमा पार्टी सभापति शेरबहादुर देउवाबाट अनावरण भएको छ । अनावरणपछि पार्टी कार्यालयमा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्नु हुँदै सभापति देउवाले पार्टी संगठन सुदृढीकरणमा लाग्न सबै कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो काँग्रेस सध्याउँछु भन्नेहरु आफै सिद्धिएर जान्छन्। वर्तमान अवस्थामा अन्य दलहरुसँग गठबन्धन गरेर राष्ट्र र प्रजातन्त्र जोगाउन काँग्रेसले अहम् भूमिका निर्वाह गरेको छ । गठबन्धनबाट कसैले पनि निराश हुनुपर्ने अवस्था नरहेको पनि उहाँले प्रष्ट पार्नुभयो । यसैगरी नेपाली काँग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारले काँग्रेसलाई थप मजबुत र सशक्त बनाउन युवाहरुको महत्वपूर्ण भूमिकामा जोड दिनुभयो । नेपाली काँग्रेस प्रदेश नं. १ का सभापति एवम् कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले झापाका प्रभावशाली काँग्रेसका नेता केशवकुमार बुढाथोकीको आलोचना गरेर समय बिताउनु भएको थियो । आम कार्यकर्ता र नेताका माझ उहाँले बुढाथोकीको जुन प्रकारले आलोचना गर्नुभएको थियो त्यसले सम्मेलनमा सहभागी सबैलाई आश्चर्य चकित बनाएको थियो । उहाँले भन्नुभयो म मुख्यमन्त्री भएकोमा बुढाथोकीलाई किन आपत्ति ? उहाँले भन्नुभयो बुढाथोकीले एमालेबाट मुख्यमन्त्री बन्नु भएका यस अघिका हिक्मत कार्कीको बारम्बार समर्थन गर्नुको औचित्य के हो ? सोही कार्यक्रमलाई सम्बोधन गर्दै थापाले वर्तमान मेरो नेतृत्वमा रहेको कोशी प्रदेश सरकार कुनै पनि हालतमा ढल्दैन । एकथरिले वहियात हल्ला पिटाउदै गएको प्रति उहाँको कडा आक्रोस थियो । यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले काँग्रेसले अब सच्चिने बेला आएको छ । रुपान्तरणको कुरा धेरै
उठे । न व्यक्तिमा रुपान्तर आएको छ न पार्टीमा रुपान्तरण आएको छ । यसैगरि नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगनाले यतिबेला नयाँ दलहरु आएका छन् । काँग्रेसभित्र निराश भएकाहरु ती दलहरुप्रति आकर्षित भएका छन् । उनीहरुलाई रोक्न पार्टीले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । नेका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की, तरुण दलकी नेतृ लक्ष्मी खतिवडा लगायत एक दर्जनले सो अवसरमा आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया