विराटनगर । भारतको बथनाहादेखि विराटनगरको बुधनगरस्थित रहेको भन्सार यार्डसम्म अब नियमित कार्गो रेल सेवा सञ्चालन हुने भएको छ । कार्गो सेवालाई नियमित गर्न नेपालका तीन वटा सरकारी निकाय बीच असार ११ गते सहमति भएपछि उक्त सेवाले निरन्तता पाउने भएको हो । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको जेष्ठ १७ गतेदेखि २० गतेसम्म भएको भारतको औपचारिक भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले स्विच थिचेर उद्घाटन गरेपछि पहिलो पटक कार्गोसहितको रेल विराटनगर आएको थियो । तर त्यसपछि त्यसलाई कसले सञ्चालन गर्ने भन्ने सम्बन्धमा अन्यौल भएपछि रोकिएको थियो । भारत सरकारको ४ अर्ब लगानीमा मोरङको कटहरीसम्म १८.६ किमी लम्बाईको ब्रोडग्रेज रेलमार्ग निर्माणको काम सन् २०११ देखि शुरु भएको र सन २०१७ मा सम्पन्न हुनुपर्ने थियो । तर नेपाल तर्फको ६ विघा जग्गा मुआब्जा विवादका कारण सम्पन्न हुन सकेको छैन । बथनाहदेखि विराटनगरको कटहरीसम्म १८.५ किमी मध्ये नेपालतर्फ १३.५ र भारततर्फ ५ किमी
रेल्वले ट्रयाक रहेको छ ।

आइतबार नेपाल रेल विभाग, उद्योग वाणिज्य मन्त्रालय अन्तर्गतको इन्टर मोडल यातायात विकास समिति र विराटनगर भन्सार कार्यालयबीच सहमति भएपछि कार्गो सेवा सञ्चालन भएको हो । नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरंजनकुमार झाले आषाढ १५ गते एक सूचना प्रकाशित गरी भारतको बनथाहदेखि नेपाल कस्ष्टम यार्ड बुधनगरसम्म कार्गो रेल सेवा जेष्ठ १८ मा उद्घाटन भए पछि उक्त खण्डमा कार्गो रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेडको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी भइसकेकोले उक्त रेल खण्डमार्फत माल सामान आयात तथा निर्यात गर्न चाहने उद्योगी, व्यापारीहरुले आवश्य प्रक्रिया पु¥याई रेल सेवा मार्फत कार्गो ढुवानी व्यवस्था मिलाउन हुन आग्रह गर्नुभएको थियो ।
