राजधानी । समान सँस्कृति, रहनसहन र परम्परा रहेको नेपाल भारत साहित्यिक महोत्सवमा दुई पुस्तक विमोचन गरिएका छन् । भारतीय राजदुतावास काठमाण्डौद्वारा जेष्ठ ३ गते आइतबार आयोजित नेपाल भारत साहित्यिक महोत्सवमा ती दुई पुस्तक विमोचनसँगै पुस्तकका सम्बन्धमा वृहत परिचर्चा समेत गरिएको थियो । नेपाल भारत पुस्तकालय नेपाल वायुसेवा निगमको भवनमा आयोजित पुस्तक महोत्सवको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका नवनियुक्त उपकुलपति भुपाल राईले समुद्घाटन गर्नुभएको थियो ।

भारतीय राजदुतावास काठमाण्डौको सहयोगमा प्रकाशित ती दुई पुस्तकको उपकुलपति राईले विमोचन समेत गर्नुभएको थियो । उक्त विशेष साहित्यिक महोत्सवमा नेपालका बरिष्ठ साहित्यकार एवम् मिथिला साहित्यका ज्ञाता डा. रामदयाल राकेशद्वारा नेपालीबाट हिन्दीमा अनुवाद गरिएको ‘नेपाली कविताएँ’ तथा त्रिभुवन विश्व विद्यालयकी हिन्दी विभागकी प्राध्यापक डा. स्वेता दिप्तीको पुस्तक ‘साहित्य सोध समिधा’ विमोचन गरिएको थियो । उक्त कार्यक्रममा नेपालका बरिष्ठ साहित्यकार एवम् सँस्कृतिविद् डा. गंगाप्रसाद अकेलाका साथै लेखक, शिक्षक, भाषाविद्,साहित्य अनुरागीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
