अत्यन्तै महत्वपूर्ण नेपाल भारत चिवाभन्ज्याङ सीमा नाका खोल्न पाँचथर, ताप्लेजुङबासीको माग

पाँचथर (गणेशचौक) । पश्चिमको झुलालघाट वैतडीसम्म विस्तार हुने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको मध्यपहाडी लोकमार्गको प्रारम्भ विन्दु पाँचथरको चिवाभन्ज्याङ नाका खोल्न पाँचथर र ताप्लेजुङबासीले माग गर्दै आएका छन् । पर्यटन आवागमनसँगै बहुमूल्य जडीबुटी निर्यात, चीज लगायतका उत्पादनको व्यवसाय वृद्धिका लागि चिवा भन्ज्याङ नाका महत्वपूर्ण रहेको छ ।
चिवा भन्ज्याङ नाका खुल्ने ब्यग्र प्रतिक्षामा पाँचथर र ताप्लेजुङका स्थानीय बासिन्दाहरु रहेका छन् । नाका खोल्नका लागि उनीहरुले हरसम्भव प्रयास गर्दै आएका छन् । भर्खरैमात्र अर्थात जेष्ठ १७ गते देखि २०गतेसम्म नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको  भारत भ्रमणको पूर्वसन्ध्यामा माओवादीका प्रभावशाली नेता तथा पूर्व प्रदेश मन्त्री इन्द्र आङ्बोले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेरै चिवा भन्ज्याङ नाका खोल्न भारतीय पक्षसँग वार्ता गर्न आग्रह गर्नुभएको थियो । स्रोतले दिएको जानकारी अनुसार जवाफमा प्रधानमन्त्री दाहालले यसका लागि आफू प्रत्यत्नशील रहने बताउनुभएको थियो । अर्थात चिवाभन्ज्याङ नाका सञ्चालनलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउने र भारत सरकारसँग छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले आङबोलाई आश्वासन दिनु भएको थियो ।


भारतको सिक्किम राज्यसँग सीमा जोडिएको चिवा भन्ज्याङसम्म नेपालको तर्फबाट केही बर्ष अगाडि नै मोटर बाटो पुगिसकेको छ । उता भारत सरकारले समेत चिवा भन्ज्याङ्ग नाकासम्म गत बर्ष मोटर बाटो पु¥याइ सकेको छ । पाँचथरको गणेशचौकबाट चिवा भन्ज्याङसम्मको दुरी ६० किमी रहेको छ । जसमध्ये गणेशचौकबाट थर्पु सम्मको ९ किमी सडक कालोपत्रे भइसकेको छ भने अन्य सडकखण्ड कालोपत्रेका लागि टेन्डर प्रक्रियामा गइसकेको मध्य पहाडी लोकमार्ग आयोजनाको कार्यालय पाँचथरले जनाएको छ । यतिबेला सडक पूर्वाधारले भारत र नेपालका दुवैतर्फबाट चिवाभन्ज्याङ जोडिएको छ । तर नाका नखुल्दा नेपाल भारत दुवैतर्फकालाई आवातजावतमा सहजता छैन । याङवरक गाउँपालिका वडा नं. १ स्थित चिवा भन्ज्याङका वडाध्यक्ष राजेन्द्र खालिङ भन्नुहुन्छ हामीले सरकारलाई बारम्बार नाका खोल्न पहल गरिदिन आग्रह गर्दै आएका छौं । उहाँले भन्नुभयो चिवा भन्ज्याङ पाँचथर र ताप्लेजुङ दुवै जिल्लाका लागि महत्वपूर्ण नाका हो । सिक्किमको पश्चिमी जिल्लासँग दुवै जिल्ला जोडिएको छ । यहाँ स्मरणीय कुरा के छ भने सिक्किम र नेपालको ताप्लेजुङ, पाँचथर जिल्लाका सीमावर्ती बासिन्दाहरुबीचमा वैवाहिक सम्बन्ध समेत रहँदै आएको छ । विवाह पश्चात आफ्नै माइती जानुपर्दा पनि प्रहरीको स्वीकृति लिनुपर्छ । प्रहरीले ५ दिनको स्वीकृति मात्र दिन्छ वडाध्यक्ष खालिङले सुनाउनुभयो । चिवा भन्ज्याङ पाँचथर जिल्लाको सबैभन्दा चल्तिको बजार च्याङथापुबाट १८ किमी टाढा रहेको छ । चिवाभन्ज्याङमा नेपालको सशस्त्र प्रहरीले सीमा सुरक्षा गर्दै आएको छ भने भारततर्फ सीमा सुरक्षा बल (एसएसवी) को क्याम्प रहेको छ । चिवा भन्ज्याङबाट सिक्किमको राजधानी गान्टोकको दूरी १७० किमी छ । गान्टोक पुग्ने यो सबैभन्दा छोटो दूरी हो ।

तपाईको प्रतिक्रिया