सरसफाई गर्दै वातावरण दिवस मनाइयो

धरान । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौ, वातावरणमत्रै विकल्पको उपयोग गरौ’ भन्ने नाराका साथ नेपालमा विश्व वातावरण दिवस मनाइएको छ । प्रत्येक बर्ष जुन ५ का दिन विश्वभरि मनाइने गरिएको यो दिवस नेपालमा पनि मनाइने गरिएको हो । आजको दिन धरानमा समेत विभिन्न स्थानको सरफाई गर्दै विश्व वातावरण दिवस मनाइएको छ । उपमहानगरपालिका, विभिन्न वडाहरुले छुट्टाछुट्टै रुपमा विश्व वातावरण दिवस विभिन्न स्थानको सरसफाइ गरी मनाएका छन् ।


यसै क्रममा धरान उपमहानगरपालिका वडा नं. १९ को आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयको संयुक्त व्यार्नर सामुदायिक प्रहरी साझेदारीसहित हरियाली सामुदायिक वन उपभोक्ता समिति, चौकीबारी महिला समूहले धरान १९ मा रहेका महत्वपूर्ण स्थानको सरसफाइ गरेर विश्व वातावरण दिवस मनाएको हो । संयुक्त टोलीले हरियाली सामुदायिक वनदेखि सरसफाइ शुरु गरेको थियो । त्यसपछि दिपेन्द्र चौक, बाजेबज्यु चौक हुदै इलाका प्रहरी कार्यालय अगाडिको फोहोर सरसफाइ गरेको थियो । सो अवसरमा बोल्दै धरान १९ की वडा सदस्य झुमादेवी राईले विश्व वातावरण दिवसको अवसरमा वडा समितिसँगै संयुक्त टोलीले विभिन्न ठाउँमा सरसफाइ गरेको बताउनुभयो । उहाँले वातावरण दिवसका दिनमात्र हैन आफ्नो घर आगनमा भएको फोहोर महिला सधै आफैले सफा गरौ भन्ने सन्देश समेत प्रवाह गरेको बताउनुभयो । वडा सदस्य लोकेन्द्र राईले धरान १९ का सामाजिक संघ संस्था, प्रहरी वडा समितिका पदाधिकारी लगायतले ंसंयुक्त रुपमा सरसफाइ गरेको बताउनुभयो । फोहोर व्यवस्थापनको दीर्घकालीन समस्या समाधानका लागि जनचेतना अभियान सञ्चालनका लागि पनि यस बर्ष विश्व वातावरण दिवस मनाइएको वडा समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया