दुई दर्जन भन्दा बढी महत्वपूर्ण एजेण्डामा छलफल हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल आजदेखि भारतको चार दिने औपचारिक भ्रमणमा

धरान । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल आजबाट भारतको चारदिने औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहालले यो भ्रमण गर्न लाग्नु भएको हो । यस सम्बन्धी औपचारिक जानकारी भारतको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले जेष्ठ १३ गते विज्ञप्ती जारी गर्दै दिएका हुन् । नेपालको परराष्ट्र मन्त्रायलले जारी गरेको विज्ञप्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा दाहाल भारत भ्रमणमा जाने जनाइएको छ ।
दाहाल गत पौष १० गते नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । यस भन्दा अगाडि चीनको वोआओ सम्मेलनमा भाग लिन चिनियाँ पक्षले आमन्त्रण गरेपनि उहाँले आफ्नो पहिलो भ्रमण दक्षिणबाटै हुने भन्दै रद्ध गर्नुभएको थियो । भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका विशिष्ट व्यक्तिहरुसँग पनि द्विपक्षीय हितका विषयमा वार्ता र छलफल गर्नुहुने बताइएको छ । नेपालको  परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दाहालको भारत भ्रमणका अवसरमा ८८ जनाको टोली संलग्न हुने भएको छ । प्रधानमन्त्री दाहालकी पुत्री एवम् स्वकीय सचिव गंगा दाहालसँगै मन्त्री, सचिव, उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहने बताइएको छ । दाहालको भ्रमण टोली जम्बो भएको भन्दै केही पक्षबाट आलोचना भएपनि सरोकारवालाहरुले भ्रमण टोलीमा विविध क्षेत्रको विज्ञहरु समेत सम्मिलित हुँदा जम्बो देखिएको मात्र भएको प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहालले बताएकी छन् ।

प्रधानमन्त्री दाहालको भेटघाट
भारतको औपचारिक चार दिने भ्रमणमा रहनु हुँदा प्रधानमन्त्री दाहालले भारतकी राष्ट्रपति द्रौपति मुर्मु, उपराष्ट्रपति जयदिप धनखण्ड लगायतसँग पहिलो दिन नै भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसैगरी भ्रमणको दोस्रो दिन दाहालले  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीको हैदरावाद हाउसमा भेटघाट गर्दै हुनुहुन्छ । त्यस क्रममा भ्रमण टोलीमा रहेका विशिष्ट व्यक्तिहरु समेतको सहभागितामा प्रधानमन्त्री मोदीसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता हुने जनाइएको छ । यहाँ स्मरणीय कुरा के छ भने संयुक्त प्रतिनिधि मण्डलसँगको वार्तापछि संयुक्त पत्रकार सम्मेलनको आयोजना हुने भएको छ । संयुक्त पत्रकार सम्मेलनमा अन्य बेलाको झै पत्रकारहरुले कुनै प्रकारको प्रश्न वा जिज्ञासा राख्न पाउने छैनन् । उक्त अवसरमा भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने जनाइएको छ । नेपाली प्रतिनिधि मण्डलको भारतका कुन कुन प्रतिनिधि मण्डलसँग भेटवार्ता हुने भन्ने कुरा दुवै देशका विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छैन । यद्यपि भारतीय विदेशमन्त्री डा. एस.जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विनय मोहन क्वात्रासँग वार्ता हुने जनाइएको छ । भ्रमणका क्रममा दाहालले मध्य प्रदेशको इन्दोर र उज्जैनको समेत भ्रमण गर्नुहुने तालिका सार्वजनिक भएको छ ।
छिमेकी पहिलो नीति
भारतीय विदेश मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्ती अनुसार छिमेकी पहिलो नीतिलाई भारतले अगाडि बढाएको उल्लेख गरेको छ । विज्ञप्तीमा भनिएको छ भारत र नेपालबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिइएको छ । दुई देशबीचको द्विपक्षीय सम्बन्ध विगत केही बर्षमा सहकार्यका सबै क्षेत्रमा उल्लेखनीय रुपमा सुदृढ भएको छ । द्विपक्षीय साझेदारीलाई थप गति प्रदान गर्न दुवै पक्षले एक अर्कालाई दिएको महत्वलाई भ्रमणले विशेष जोड दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । हुन त प्रधानमन्त्री दाहालले यस भन्दा अगाडि तीनपटक भारत भ्रमण गरिसक्नु भएको छ । दुई पटक प्रधानमन्त्रीको हैसियतले र एक पटक विक्स समिटमा सहभागी हुन ।
के के कुरामा वार्ता हुँदै
प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा एक दर्जन भन्दा बढी विषयमा छलफल हुने बताइएको छ । जसमा नेपाल टेलिभिजन च्यानलको भारतमा प्रशारण, भैरहवा र महेन्द्र नगरबाट दुईतर्फी हवाई रुट उपलब्धता, बंगलादेशसँग विद्युतीय व्यापारमा भारतको सहजीकरण, २५ बर्षसम्म विद्युत व्यापार सम्झौता, तल्लो अरुणबाट उत्पादित मध्ये २१.९ प्रतिशत पाउने गरी सम्झौता, न्यू मोदी लेखनाथ लाइन प्रसारण उद्घाटन, नेपाल र भारतका कम्पनीबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता, दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहमा समझदारी लगायतका विषय वार्ताका एजेण्डाहरु रहेको नेपालको  परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया