धरान । सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास हराउदै गएको समयमा धरान उपमहानगरपालिकाको आर्थिक महाशाखा र प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षक कार्यालयले संयुक्त रुपमा धरानमा अनुगमन गरेको छ । पछिल्लो समय सहकारी संस्था आर्थिक पारदिर्शिता, जथाभावि ऋण लगानी, बचतकर्ताको रकम समयमै भुक्तानी नगरेको विषयमा व्यापक उपमहानगरपालिकाको आर्थिक महाशाखामा व्यापक उजुरी परेपछि अनुगमन गरिएको हो ।

सहकारी संस्थाप्रति अविश्वास बढ्दै गएको अवस्थामा संयुक्त रुपमा अनुमन गरिएको हो । धरानमा रहेका धेरै सहकारीबाट विभिन्न प्रकारका गुनासा, उजुरी नै आएपछि विगतमा समेत अनुगमन गर्दै आएको र यसपटक पनि अनुगमन गरिएको आर्थिक विकास महाशाखाका प्रमुख भक्तिराज शर्माले बताउनुभयो । अनुगमनका क्रममा सहकारी संस्थामै गएर संहकारीको हिसाब किताव, ऋण लगानी र भइरहेका कार्यक्रमका साथै सहकारीको गतिविधिका बारेमा गरेको महाशखा प्रमुख शर्माले जानकारी दिनुभयो । धरानमा अनुगमन गरिएका सहकारी संस्था अवस्था हेर्दा सहकारीको मूल्य, मान्यता र सिद्धान्तमा आाधारित भएर चल्नुपर्ने सहकारीको नियमहरु कमैमात्र पालना भएको पाइएको उहाँको भनाई छ । अनुगमनका क्रममा ऋण प्रवाह गर्दा १६ प्रतिशत भन्दा बढाउनु नहुने, ऋण लगानी गर्दा ऋण लिने ब्यक्तिको हैसियत बढी ऋण लिएको, ऋण समितिले ऋण प्रवाह गर्दा पु¥याउनुपर्ने प्रक्रिया पूरा नगरेको पाइएको उहाँले जानकारी दिनुभयो । सो अवसरमा संयुक्त टोलीले धरानमा रहेको नमो बचत तथा ऋण सहकारी संस्था लि, नौलो बचत तथा ऋण सहकारी संस्था लि, दर्शन सहकारी संस्था लि, श्रीगणश, उपकार तथा पराग सहकारी संस्था लिमिटेडको कार्यालयमै पुगेर अनुगमन गरेको थियो ।
विद्यमान परिस्थितिमा धरानमा रहेका ८८ वटा सहकारी संस्थामध्ये धेरैको आर्थिक महाशाखामा उजुरी आएकोले अनुगमनलाई तिब्रता बनाइएको आर्थिक विकास महाशखा अन्तर्गतको सहकारी फाँट हेर्ने कर्मचारी हेमा थलङले बताउनुभयो । उहाँले सहकारीले बचतकर्ताको रहक समयमै फिर्ता गर्न नसकी ढिला गरेको, कतिपय सहकारीले बचत गरेको रकम नै फिर्ता नगरेको भन्ने उजुरी परेकोल विगतदेखि नै अनुगमन गरे पनि यस पटक भने प्रदेश सहकारी संस्थसँग पनि समीय गरेर अनुगमनलाई तिब्रता दिएको बताउनुभयो । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षक कार्यालयका अधिकृत मनोज कार्कीले अनुगमनका क्रममा धरान उपमहानगरपालिकामा सञ्चालन भएका अधिकांश सहकारी संस्था सहकारी ऐन, नियमावली अनुरुप नचलेको पाइएको बताउनुभयो । उहाँले अनुगमनपश्चात तत्काल गर्ने
जरिवाना, अनुगमनपछि तयार पारिएको प्रतिवेदन पश्चात सहकारी ऐनको दफा १२२ देखि १२५ सम्म भएका कसुर र सोमा भएका सजायका बारेमा कोट गरेर प्रतिवेदन तयार पारिने बताउनुभयो । उहाँले सहकारी ऐन अनुसार नै अधिकांश सहकारी नचलेका कारण अब नियमित अनुगमन गरेर सर्वसाधारणको रकम सुरक्षित हुने वातावरण तयार पार्न पनि यो अनुगमन गरिएको बताउनुभयो ।
धरानमा ८८ वटा सहकारी संस्था रहेका छन् । यसमध्ये पनि प्रक्रिया पूरा गर्ने कोपोमिस (सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली) राख्नेको संख्या ६६ रहेको छ भने चुस्तदुरुस्त रेकड अपलोड गर्ने मात्र ५५ वटा सहकारी संस्था रहेको पाइएको छ । अहिले सहकारी सस्थाको विषयमा धरान उपमहानगरपालिकाको आर्थिक महाशाखामा ५ वटा उजुरी परेका छन् । त्यो मध्ये एउटा सहकारीको भने समस्या हल भएको आर्थिक महाशाखाकी कर्मचारी थलङले जानकारी दिनुभयो । अनुगमनका क्रममा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षक कार्यालयका अर्का अधिकृत मनराज भट्टराई, कार्यपालिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक विनता बज्राचार्य लगायतको सहभागिता रहेको थियो । अनुगमनका क्रममा सहकारी संस्थालाई सहकारी ऐन अन्तर्गत सञ्चालन गर्न निर्देशन दिएको थियो । अर्कोपटक अनुगमन गर्दा सबै सहकारी चुस्त दुरुस्त बनाउन अनुगमन टिमले सहकारी संस्थाहरुलाई सुझाएका थिए । अनुगमन अनुगमनका लागि मात्र नभई यसले सार्थकता पाओस् भन्ने सुझाव सर्वसाधारणले विगतदेखि नै दिँदै आएका छन् ।
