धरान । पेस्तोलसहित धरानबाट पक्राउ परेका तीनै जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ डाँडा घोपाका २९ बर्षीय हुकमेन जिमी, उनका भाई २४ बर्षीय दिपक जिमी र धरान–१५ का २४ बर्षीय रोहित राई रहेका छन । प्रहरीले सुचनाको आधारमा बैशाख ३१ गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको (रिट) समुह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले हुकमेन जिमी र दिपक जिमीलाई उनको घरकोठाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका जिमी दाजुभाईलाई सोधपुछका गर्ने क्रममा हुकमेन जिमीले २ थान पेस्तोल खरिद गरी ल्याएको बुझिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिनुभयो । उहँका अनुसार खरिद गरेर ल्याएको पेस्तोलमध्ये १ थान दिपक जिमीलाई राख्न दिएको र अर्को १ थान रोहित राईलाई दिएको खुलेको बताउदै खोजतलासकै क्रममा घर पश्चिम रहेको सर्दुखोला नजिकको झाडीमा झोलामा लुकाएर राखेको अवस्थामा नचल्ने अवस्थामा रहेको १ थान पेस्तोल फेला परेकोे थियो ।

यसैगरि सोही राती रोहित राईको घरकोठा समेत प्रहरीले खानतलासी गरेको थियो । खनतालसीका क्रममा राइ सुत्ने पलङको डस्ना मुनी लुकाएर राखेको अवस्थामा म्याग्जिन सहितको ‘मेड इन इटली’ लेखेको १ थान पेस्तोल सहित प्रहरीले फेला पारेको थियो । दुई ओटा पेस्तोल सहित पक्राउ परेका तीनैजनाको इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको डिएपी मल्लले जानकारी दिनुभयो ।
