धरान । स्थानीय सरकारले स्वास्थ्य, शिक्षासँगै स्वरोजगारमूलक तालिमलाई समेत प्राथमिकतामा राख्न थालेका छन् । विशेष गरी स्थानीय सरकारले दलित, अल्पसंख्यक, आदिवासी जनजाति तथा महिला लक्षित स्वरोजगार तालिमको आयोजना गर्ने गरेका छन् । यसै क्रममा महिलाहरुलाई सीपमुलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले धरान उपमहानगर पालिका वडा नं. १६ बजेट नै छुट्याएर मखमली जुत्ता बनाउने तालिम दिएको छ । एक हप्ते महिला लक्षित स्वरोजगार तालिममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ ।
धरान उपमहानगरपालिका वडा नं. १६ ले वडामा रहेका महिलाहरुलाई लक्षित गरी मखमली जुत्ता बनाउने तालिम दिएको हो । वैसाख २७ देखि जेष्ठ २ गतेसम्म सञ्चालन हुने तालिममा १९ महिलाहरुको सहभागिता रहेको छ । वडा सदस्य सुशिला श्रेष्ठका वडामा रहेका २१ वटा टोल विकास समितिबाट १९ जना महिलाहरुको सहभागिता रहेको बताउनुभयो । उहाँले महिलालाई स्वरोजगार बनाउने उद्देश्यल वडाको महिला लक्षित कार्यक्रम अन्तर्गत एक हप्ते मखमली जुत्ता बनाउने तालिम दिएको बताउनुभयो । मखमली जुत्ता विवाहका समयमा बेहुली भएको अवस्थामा अधिकमात्रमा प्रयोगमा आउने गर्छ । समयको सदुपयोगसँगै महिला आत्मनिर्भर बन्न सकून भन्ने उद्देश्यले पनि तालिमको आयोजना गरिएको वडा सदस्य श्रेष्ठ बताउनुहुन्छ । यता तालिममा सहभागी महिलाहरुले पनि यो तालिम लिइसकेपछि आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा राखेका छन् । तालिममा सहभागी लक्ष्मी राईले घरमा त्यतिकै बस्दा समय कटाउन गाह्रो हुने र आय आर्जन गर्ने बाटो समेत नहुने हुँदा आर्थिक अवस्था सुदृढ बनाउने उद्देश्यले १६ नं. वडा समितिले आयोजना गरेको यो तालिममा सहभागी भएको बताउनुभयो । उहाँले भविष्यमा यहाँ सिकेको सीपलाई व्यवहारमा उतार्ने बताउनुभयो । यस्तै तालिममा सहभागी विनाकुमार पाँचकोटीले घरमा त्यतिकै बस्नुभन्दा तालिम लिँदा घरको आयआर्जनमा पनि थप सहयोग पुग्ने अपेक्षा राखेर सहभागी भएको बताउनुभयो । उहाँले यहाँबाट सिकेको सीप प्रयोग गरेर बजारीकरण गर्न सकियो भने आत्मनिर्भर बन्न सकिने बताउनुभयो । प्रशिक्षक मिन्दु वास्तोलाले सिकेका कुरालाई प्रयोगमा ल्याए पनि बजारीकरणको भने समस्या भएको बताउनुभयो । उहाँले मखमली जुत्ता विहे पार्टीका बढी प्रयोग गरिने भएकोले सीप सिकेर जिविकोपार्जन गर्ने सम्भावना बढी भए पनि बजारीकरणकै समस्या मुख्य रहेको बताउनुभयो । धरान उपमहानगरपालिका वडा नं. १६ ले आयोजना गरेको तालिमको संयोजन नेवार एकता समाज धरान १६ वडा समितिले गरेको छ । सीप सिकेर महिलालाई पनि आत्मनिर्भर बनाउन सके आर्थिक अभावका कारण हुने समस्या समाधान हुनेमा महिलाहरुले समेत विश्वास लिएका छन् ।
