ठेकेदारको लापारबाहीले निर्माण हुन नसक्दा धरानका दुई पुल अलपत्र

धरान । चरम लापारबाहीका कारण ठेकेदार कम्पनीहरुले निर्माणको जिम्मा लिएको भौतिक संरचनाहरु समयमै काम पूरा नगरी बीचैमा छोडेर जाने प्रथा पछिल्लो समय बढ्दै गएको पाइएको छ ।
ठेक्का लिने तर काम नगरी बीचैमा अलपत्र पारेर हिड्ने प्रवृत्तिले समयमै कामले पूर्णता नपाउनु त छँदैछ, निर्माणका लागि राखिएका सामाग्री हराउने, चोरी हुने समेत हुने गरेको छ । यस्तै भएको धरान ५ देवी गाउँ रहेको जरेआहाल र मुक्तिला जोड्ने मसाने खोलाको निर्माणाधीन पुल काम नसकी ठेकेदार कम्पनी फरार रहेपछि अहिले काम ठप्प भएको छ । १० प्रतिशत पनि काम नगरी झापाका ठेकेदार पशुपति बरालले बीचैमा छोडेर अलपत्र पारेपछि अहिले यस भेगका सर्वसाधारणलाई आवातजावत तथा कृषि सामाग्री बजारसम्म ल्याएर विक्री गर्न पनि कठिन भएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा ०७४ सालकै जननिर्वाचित प्रतिनिधिले शुरुवात गरेको पुल अहिले अलपत्र अवस्थामा रहेको धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बु बताउनुहुन्छ ।


निर्माणको काम नहुदा त्यहा रहेका गिटी, बालुवा, निर्माणक लागि प्रयोग हुने सेटिङ काठ, सिमेन्ट बगाएर लगेका बताउनुभयो ।  यो एउटा पुलमात्र हैने धरान ५ कै तल्लो देउराली र खैरेनी जोड्ने पुलको हालत पनि उस्तै छ । ६ बर्ष अगाडि निर्माण शुरु भएको सो पुल समयमै निर्माण नभएपनि सडक डिभिजन कार्यालयमा गएर ठेकेदार कम्पनीसँग निर्माणका लागि  कागज गरिएको वडाध्यक्ष लिम्बु बताउनुहुन्छ । कागजमा ठकेदार कम्पनीले ०७९ को असार मसान्तभित्र सक्ने सम्झौता गरेको भएपनि अहिले काममा ढिलासुस्ती हँुदा सामान्य रुपमा आउजाउ भए पनि पूर्ण रुपमा निर्माण सम्पन्न हुन नसकेको उहाँको भनाई छ । यी त निर्माण हुदै गरेका यस्ता धेरै पुल अपत्र अवस्थामा छन् । ठेकेदार कम्पनीले बीचैमा काम छोडेर हिड्ने गरेका कारण यस्तो अवस्था आएको हो । यस्ता कम्पनीलाई कारबाहीको दायरामा ल्याउन नसक्दा निर्माण भएका भौतिक संरचना अर्धकल्चो अवस्थामा छोडेर ठेकेदार फरार हुने गरेको स्थानीयको भनाई छ । प्रदेश र केन्द्रको आयोजनामा बनेका मसाने खोला र अँधेरी खोलामा बनेका यी पुलबाहेक अन्य पुल त्यस्तो नभएको धरान उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठ बताउनुहुन्छ । लापारबाहीका कारण ठेकेदार कम्पनीले काम छोडेर बीचैमा अलपत्र पार्ने प्रवृत्तिप्रति उपमहानगरपालिका पनि गम्भीर भएको बताउदै सम्बन्धि पक्षसँग समन्वय गरेर ठेकेदार कम्पनीलाई सचेत गराएको बताउदै अटेर गरेको खण्डमा कारबाहीका लागि प्रक्रिया बढाउने बताउनुभयो । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले केही समय अगाडि अलपत्र परेका पुलको अनुगमन गरेको बताउनुभयो । उहाँले ठेकेदारलाई फोन सम्पर्क गर्दा फोन नउठाउने गरेकाले पुल अलपत्र पारेर हदैसम्मको लापाही गरेकाले अब कारबाहीको प्रक्रिया अगाडि बढाउने बाहेक अर्को विकल्प नभएको बताउनुभयो । सम्बन्धित निकायले यस्ता ठेकेदार कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि नबढाउने, कालो सूचिमा नराख्ने गरेकोले पनि ठेकेदारले ठेक्का लिने अनि कामै नगरी बीचैमा छोड्ने प्रवृत्ति बढेको हो । सम्बन्धित निकाय कडा रुपमा प्रस्तुत भएर कारबाहीको दायरामा ल्याउने हो भने यस्ता प्रवृत्तिको अन्त्य हुने निश्चित
छ ।

तपाईको प्रतिक्रिया