टिप्तलाभन्ज्याङ नाका खुलाउन दुबै देशका प्रशासन र जनप्रतिनिधिबीच भर्जुअल वार्ता चिनिया“ सहयोग तथा अनुदान भन्दा पनि नाका खोल्दा व्यवसाय सहज हुने कुरामा जोड

फुङलिङ (ताप्लेजुङ) । नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापित भएको ६८ बर्ष पुगेको पूर्व सन्ध्यामा ताप्लेजुङका जनप्रतिनिधि, प्रशासन र तिब्बत स्वायत्त क्षेत्र डिङ्गजी काउन्टीका जनप्रतिनिधि, प्रशासन बीचमा गत मंगलबार भर्चुअल वार्ता भएको छ । दुवै देशका सीमावर्ती क्षेत्रका जनप्रतिनिधि, प्रशासन बीचमा पहिलो पटक वार्ता भएको हो । वार्ताको तारतम्य मिलाउने व्यवस्था फक्तालुङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष छेतेन शेर्पा वालुङ्गले गर्नुभएको थियो ।


शेर्पाले विगतदेखि नै ओलाङचुङगोला सडक, ठप्प भएको टिप्तला भन्ज्याङ नाका खोल्न सम्बन्धित निकायमा पहल गर्दै आउनु भएको छ । झण्डै दुई घण्टा चलेको भर्चुअल बैठकमा तीनवटा एजेन्डामाथि छलफल भएको थियो । दुवै देशबीच टिप्तला नाकाबाट हुने व्यापार प्रवद्र्धन गर्ने, रिया  बन्दरगाहमा सडक निर्माण, पूर्वाधार निर्माण, द्विपक्षीय सहयोग वार्ता र सीमा व्यापारिक सहयोग आदि
रहेको थियो । बैठकको प्रारम्भमै चिनियाँका तर्फबाट ओलाङचुङगोला टिप्तला नाका चाडो भन्दा चाडो खुलाउन र चीनसँग जोडिएको नेपालतर्फको सीमा सडक निर्माण, पुल निर्माण गर्ने प्रतिबद्धता जनाएसँगै सम्बन्धित निकायमा पहल गर्ने कुरामा जोड दिइएको थियो । भर्चुअल बैठकमा ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले देशको उच्च निकायसँग सीमानाका खोल्न पहलका लागि आग्रह गरिने बताउनु भएको थियो् । टिप्तला भन्ज्याङ नाका विगत चार बर्षदेखि बन्द रहेको छ । सीमा नाका बन्द हुँदा सीमावर्ती जनजीवन कष्टकर भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । यस सम्बन्धमा चिनियाँ पक्षलाई जानकारी गराएको उहाँले बताउनुभयो । नाका खुलाउन चिनियाँ पक्षको सहयोग आवश्यक रहेको पनि उहाँले बताउनुभयो । भर्चुअल बैठकमा ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी चेम्जोङसँगै जिल्ला समन्वय समितिका सभापति छिरिङ लामा, फक्तालुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु, उपाध्यक्ष विकास साम्रा, कार्यपालिका सदस्य निङमा डन्डु शेर्पा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको ताप्लेजुङ प्रमुखहरुको सहभागिता रहेको थियो । यसैगरि चिनियाँका तर्फबाट डिङ्गजी काउन्टीका प्रमुख ताओ मिगजुन, उपप्रमुख डिङ लिमिन, जन सरकार प्रमुख सेचुङ्ग, सिगात्से सिटीका अर्थ विभाग अनुसन्धान प्रमुख वाङसिया ओमाङ्ग रहेका थिए । चिनियाँ पक्षले नेपाल–चीन सीमा नाका टिप्तला भन्ज्याङदेखि ओलाङचुङगोलासम्मको २४ किमी सडक कालोपत्रे गरिदिने, दुई वटा मोटरेवल पुल बनाइदिने आश्वासन दिइएको थियो । टिप्तला भन्ज्याङ्गदेखि गोलासम्मको २४ किमी सडक चिनियाँ पक्षले केही बर्ष अगाडि खोलिदिएको थियो । तर सडक कालोपत्र हुन भने सकेको छैन । चिनियाँ पक्षले नेपाली पक्षलाई खाद्यान्न, औषधि तथा अन्य सहयोगको पनि प्रस्ताव गरेको थियो । तर नेपाली पक्षले सहयोग तथा अनुदान भन्दा पनि नाका सुचारु गरिदिएर सहज ढंगले व्यवसाय सञ्चालनको व्यवस्था गरिदिन आग्रह गरेको थियो । यहाँ स्मरणीय कुरा के छ भने टिप्तला भन्ज्याङ नाका २०७६ सालदेखि पूर्ण रुपमा बन्द रहेको छ । कोरोना महामारीलाई देखाएर चिनियाँ पक्षले एकतर्फी नाका बन्द गरिदिँदा गोलाबासीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।

तपाईको प्रतिक्रिया