महिला जनप्रतिनिधिहरुले बुझाए ज्ञापनपत्र

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाका महिला जनप्रतिनिधिहरुले वडाध्यक्षहरुले अपमान गरेको, नगरपालिकाले उपेक्षा गरेको भन्दै नगरप्रमुख केदार भण्डारीलाई ज्ञापनपत्र बुझाएका
छन् । उनीहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ एउटै विधि र प्रक्रियाबाट निर्वाचन जितेर आएको भए पनि वडाध्यक्षहरुले मनोमानी ढंगले बैठक बोलाउने, आफू खुशी निर्णय गर्ने, महिला सदस्यहरुलाई वेवास्ता गर्ने, कुनै प्रकारको सोधपुछ नगर्ने, एकलौटी ढंगले गरेका निर्णयहरुमा हस्ताक्षर गर्न मात्र दबाब दिने गरिएको छ ।


महिला जनप्रतिनिधिहरुलाई भूमिका विहीन बनाउने कामको अन्त्य हुनुपर्ने, योजना तर्जुमा सम्बन्धी तालिम दिनुपर्ने, महिला जनप्रतिनिधि सञ्जाल कार्यकक्षको व्यवस्था गर्नुपर्ने, वैठक बोलाउँदा तीन दिन अगाडि नै एजेण्डा सहितको पत्र उपलबध  गराउनुपर्ने लगायतका माग रहेको महिला जनप्रतिनिधि सञ्जाल इनरुवाकी संयोजक सविना सिग्देलले जानकारी दिनुभयो । यसै सम्बन्धमा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीसँग सम्पर्क राख्दा सम्पर्क हुन सकेन । महिला जनप्रतिनिधि सञ्जालकी सह संयोजक रञ्जु पौड्यालका अनुसार महिला सदस्यहरुलाई कार्यवाहक दिँदा सुविधा नदिने गरेको, वडाध्यक्षहरुले एकलौटी सुविधा लिएकोले पनि बाध्य भएर हाललाई ज्ञापनपत्र बुझाउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो नगर कार्यपालिका बैठकबाट हाम्रा माग सम्बन्धमा उचित सम्बोधन हुनेछ ।

तपाईको प्रतिक्रिया