धरान । आजभन्दा २० बर्ष अगाडि अर्थात २०६१ वैसाख ७ गते स्थापना भएको भारतीय भूतपूर्व सैनिक संघको २० औं स्थापना दिवस सम्पन्न भएको छ । धरान उपमहानगरपालिका वडा न. १३ स्थित केन्द्रीय कार्यालयको सभा कक्षमा आयोजित २० औ स्थापना दिवसका अवसरमा ठूलो संख्यामा भारतीय भूतपूर्व सैनिकहरुको उपस्थिति रहेको थियो । स्थापना दिवसमा सहभागी हुनैका लागि धरानमा स्थायी रुपमा बसोबास गर्नुहुने भूपू सैनिकसँगै इटहरी, पथरी, दमक, धनकुटा लगायतका स्थानहरुबाट उत्साहका साथ उपस्थिति भएका थिए ।

सो अवसरमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङ, भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानका प्रमुख मेजर भरत कनौजिया, इसिएचएस प्रमुख डा. मुरलीकृष्ण, भारतीय भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष कर्णेल विजयकुमार राईले द्विप प्रज्वलन गरी एक साथ कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा गरिमा डान्स सेन्टरद्वारा प्रस्तुत लिम्बु साँस्कृतिक नृत्य च्याब्रुङ, तामाङ सेलो, साकेला साँस्कृतिक नृत्य मञ्चन गरिएको थियो । २० औं स्थापना दिवसलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकका प्रमुख हर्क राज राई साम्पाङ र पेन्सन वितरण कार्यालय धरानका प्रमुख मेजर भरत कनौजियाले शुभकामना व्यक्त गर्नुभएको थियो । भारतीय भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष कर्णेल विजयकुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुवेदार मेजर नेत्रप्रसाद लिंगदेनले समेत संघको हालसम्मको गतिविधिमाथि प्रकाश पार्नुभएको थियो भने सञ्चालन सचिव भिम राईले गर्नुभएको थियो । यहाँ स्मरणीय कुरा के छ भने भारतीय भूतपूर्व सैनिक संघ केन्द्रीय कार्यालय धरानले भूतपूर्व सैनिक र तिनका आश्रित परिवारका लागि विविध प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । भारतीय राजदुतावासद्वारा उपलब्ध गराइएका कम्प्युटर, लुगा सिउने मेसिनहरुबाट भूपू र तिनका बालबच्चाहरुलाई नियमित रुपमा तालिम उपलब्ध गराउँदै आएको छ । भारतीय भुतपूर्व सैनिक कर्ण गुरुङ भन्नुहुन्छ, भारतीय भूपू सैनिकहरुकै सहभागितामा धरानको तीनकुनेमा आकर्षण प्रवेशद्वारा निर्माणको कार्य चाँडै नै अगाडि बढ्ने भएको छ । यसैगरी जीवनभरि भारतीय सरकारको विभिन्न युद्ध मोर्चामा बहादुरीका साथ लडेर सेवा निवृत्त पश्चात बुढ्यौलीमा आफ्नै परिवारबाट कैयौ भूपूहरु अपहेलित भएर बस्नु पर्ने अवस्था छ । उनीहरुलाई सम्मानपूर्वक बाँच्ने अवसर प्रदान गर्ने हेतुले भूपूहरुले बृद्धाश्रमको व्यवस्थाका लागि भारतीय राजदुतावासलाई आग्रह गर्ने भएका छन् । यसो हुन सकेमा अपहेलित र विविध कारणले एक्लो जीवन बाँच्न विवश भारतीय भूपूहरुलाई ठूलो राहत हुने गुरुङले बताउनुभयो ।
