६ नं. वडा समितिले मातातीर्थ औसीमा आमाहरुलाई सम्मान

धरान । वैसाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनमा सबैले आ आफ्ना ढंगबाट आमालाई मिठो मसिनो, राम्रो लुगा कपडा लगाइदिएर मनाएका छ्न् । तर स्थानीय
सरकारका तर्फबाट भने सायदै धरान उपमहानगरपालका ६ नं. वडा कार्यालयले मात्र वडामा रहेका आमाहरुलाई सम्मान गर्दै मिठो मसिनो खान दिएर मातातीर्थ औँसी मनाएका छन् ।
मुलुकमा संघीयता आएसँगै संविधानमा समेत स्थानीय सरकारलाई धेरै अधिकार प्रदान गरेको छ । अधिकार प्राप्त स्थानीय तहहरुले पछिल्लो समय अभिभाकत्वको जिम्मेवारी समेत वहन गर्ने गर्छन् । वडामा रहेका जेष्ठ नागरिकलाई लक्षित सामाजिक सुरक्षा भत्ता प्राप्तमा सहजता, स्वास्थ्य शिविरको आयोजना, तीर्थयात्रा लाने लगायतका कामहरु गर्ने गर्छन् । यसै अनुरुप धरान उपमहानगरपालिका वडा नं. ६ ले आफ्ना वडामा रहेका आमाहरुलाई एकै ठाउँमा भेला गरेर सम्मानसहित मिठो मसिनो खुवाएको छ ।  ०७१ सालदेखि नै ज्येष्ठ नागरिकको सम्मानस्वरुप स्थापना भएको इन्द्रप्रस्थ ज्येष्ठ नागरिक समाजकी अध्यक्ष दिव्यश्वरा गौतमले निःसन्तान आमाहरुलाई वडाले मातातीर्थ औशीका दिन सम्मान गरेको प्रति वडाको प्रशंसा गर्नुभयो । उहाँले अरु कोही नभए पनि स्थानीय सरकार छ भन्ने भान सम्मानित आमाहरुलाई महसुस हुने बताउनुभयो ।  सो अवसरमा बोल्दै धरान उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराईले स्थानीय सरकार सबैको सुखदुःख साथ दिने निकाय भएकोले समस्या परेका कुराहरुलाई निर्धक्क भएर भन्न आग्रह गर्नुभयो । उहाँले ज्येष्ठ नागरिक समाजमा महत्वपूर्ण अंग भएकोले आउन सक्नेलाई वडाबाट र आउन नसक्नेलाई घर घरमा पुगेर सम्मान गर्ने बताउनुभयो । सो अवसरमा सम्मानित ज्येष्ठ नागरिकहरुले वडाले गरेको कार्यप्रति धन्यवाद दिएका थिए । सामुहिक रुपमा आफू सम्माननित हुन पाएकोमा उनीहरुले वडाध्यक्ष भट्टराईलाई आर्शीवाद दिएका थिए । उनीहरुले वडाले समय समयमा जेष्ठ नागरिकप्रति गरेको कामले उनीहरुले साच्चै नै आफूहरुलाई सम्मानित भएको महसुस गरेका थिए ।

तपाईको प्रतिक्रिया