धरान । लामो समयदेखि बन्द रहेको कोशी प्रदेशमा रहेका उत्तरी दुई नाका आगामी वैसाख १८ गतेदेखि खुल्ने भएका छन् । कोशी प्रदेशका चीनसँग जोडिएका दुई महत्वपूर्ण नाकाहरु रहेका छन् । संखुवासभाको किमाथांका र ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला–टिप्तला भन्ज्याङ । वि.सं. २०७२ सालको महाविनाशकारी भुकम्प र २०७६ सालको विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण चीनले एकतर्फी रुपमा दुबै नाका बन्द गरिदिएको थियो ।

ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँ पालिका वडा नं. ७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार कोरोना महामारी पश्चात नाका पूर्ण रुपमा चीनले एकतर्फी रुपमा बन्द गरिदिँदा गोलाबासीको जनजीवन अत्यन्तै कष्टकर बन्यो । गोलाबासीहरु टिप्तला भन्ज्याङ भएर चीनबाट खाद्यान्न, लत्ताकपडा लगायतका सामान खरिद गर्थे भने गलैचा, जडीबुटी, चौरी विक्री गरेर जीविकोपार्जन गर्दै आएका थिए तर नाका बन्द भएपछि जनजीवन कष्टकर बन्दा अधिकांश गोलाबासीहरु बसाई सर्न समेत बाधय भएका थिए । उता संखुवासभाको किमाथांका नाका बन्द भएपछि गोलबासीकै नियतिमा किमाथांकाका स्थानीयहरु पुगेका थिए । स्थानीय डन्डु शेर्पा भन्नुहुन्छ राज्यले अन्यत्रको नाका खुलाउन बारम्बार चीनसँग कुटनीतिक पहल ग¥यो तर किमाथांका नाका खुलाउनेतर्फ सदैव वेवास्ता गर्दै आयो । बारम्बार स्थानीयले जिल्ला प्रशासन कार्यालय मार्फत संघीय सरकारलाई दिएको ज्ञापनपत्र, जन दबाबजस्ता कारणले बल्ल आगामी वैसाख १८ गते अर्थात मे १ तारेख देखि नाका खुल्ने सुन्नमा आएको छ । यसले किमाथांकाबासी मात्र नभएर सम्पूर्ण संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, पाँचथरका बासिन्दाहरु समेत कुनै न कुनै रुपमा लाभान्वित हुने शेर्पाले बताउनुभयो । जनदबाबकै कारण नेपाल
सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष बीचमा वार्ता भएको थियो । मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनका स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीचमा दुई हप्ता अगाडि चीनमा वार्ता भएको थियो । वार्ता पश्चात चीनतर्फका किमाथांका र ओलाङचुङगोला नाका मात्र नभएर व्यापारिक र सिजनल सबै नाका खोल्ने सहमति भएको थियो । वार्ता पश्चात चैत्र २५ देखि नै चीनतर्फका अन्य नाकाहरु मुस्ताङको कोरोला, मुगुको ¥याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्री, डोल्पाको उत्तरी नाका, रसुवाको केरुङ, कोदारी र
यारी नाका सञ्चालनमा आइसकेका छन् । संखुवासभा जिल्लाको खाँदबारीबाट किमाथांका सडकको ट्रयाक खुल्न ८ सय मिटरमात्र बाँकी रहेको छ भने ताप्लेजुङ जिल्लाको सुकेपानीमा डेढ किमी सडक खुल्न बाँकी रहेको छ । यी दुवै सडकको ट्रयाक खुल्नसाथ चीन र भारत जोड्ने सबैभन्दा कम दूरीको मार्ग हुने छ ।
